बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हावा चले बत्ति आउँदैन, बत्ति गए सञ्चार विच्छेद

हावा चले बत्ति आउँदैन, बत्ति गए सञ्चार विच्छेद

गुल्मीमा विद्युत अवरुद्ध हुँदा बरेङमा विद्युत नआउने भएकाले अन्तरजिल्ला समन्वयमा समस्या हुने गरेको छ


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७७, बिहिबार

बागलुङ, १८ असार– बर्षा सुरु भएसँगै बागलुङको बरेङ गाउँपालिकाका सर्वसाधारणलाई सञ्चार र विद्युतको समस्या हुन थालेको छ । गाउँपालिकाका पाँचवटै वडामा बिस्तार गरिएको बिद्युत प्रसारण लाईन र नेपाल टेलिकमको बिटिएस मोवाईल नेटवर्कमा अबरोध आउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् । सामान्य हावा चल्दा र बर्षा हुँदा बरेङमा विद्युतिकरणमा समस्या हुने गरेको छ ।
लामो दुरीको प्रसारण लाईन भएका कारण विद्युतमा पटक–पटक समस्या खेप्नुपरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । कालीगण्डकी जलविद्युत आयोजना स्याङ्जाबाट गुल्मीहुँदै बरेङमा बिस्तार भएको विद्युत अवरुद्ध हुँदा बरेङमा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुसमेत बन्द हुने गरेको बरेङ गाउँपालिका–५ सुखौराकी मैना थापाले बताईन् । ‘हावा चले बत्ति आउँदैन, बत्ति गयो भने सम्पर्क सकियो’ थापाले भनिन् ‘हप्ता दिनसम्म बत्ति नआएर सास्ती खेपेको कयौं समय भयो ।’ गुल्मीमा विद्युत अवरुद्ध हुँदा बरेङमा विद्युत नआउने भएकाले अन्तरजिल्ला समन्वयमा समस्या हुने गरेको अध्यक्ष शर्माले बताए ।
‘अर्काको जिल्लामा समन्वय गर्न कठिन हुँदोरहेछ, हामीललाई समस्या पर्दा गुल्मी गुहार्नु पर्छ’ शर्माले भने ‘समाधान गर्न पहल भएपनि प्रकृयागत समस्या छन् ।’ बरेङको बाटाकाचौर, सुखौरा र सल्यानमा सबैभन्दा धेरै विद्युत र सञ्चारको समस्या छ । बाढी र पहिरोले विद्युतका पोल बगाउने, हावा चल्दा रुखहरु विद्युत प्रसारण लाईनको तारमा अल्झिनेलगायतका समस्याले बरेङमा विद्युत अवरुद्ध हुने गरेको छ ।
विद्युतमा समस्या आउँदा सञ्चालनमा रहेका साना उद्योग, बैंक तथा वित्तिय संस्थाको कोरोवार, कार्यालयका काम र सर्वसाधारणले दैनिक उपभोग गर्ने उर्जामा समस्या हुने गरेको छ । अन्तरजिल्ला प्रशारण लाईनसँग जोडिनका लागि जिल्लाकै जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको लुरुङ गाउँसम्म पोल र तार बिस्तारको काम भएपनि विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङले विभिन्न बहानामा लाईन नजोडेको स्थानीयको गुनासो छ । ‘जिल्लाभित्रबाट पुगेको लाईन भए हामीलाई बिग्रिएको समयमा भन्न सहज हुन्थ्यो’ अध्यक्ष शर्माले भने ‘अरु सम्पर्क बागलुङमा विद्युतको लागि गुल्मी पुग्नुपर्ने अवस्था हुँदा समस्यामा छौं ।’
बरेङमा जिल्लामै सबैभन्दा धेरै फोरजी इन्टरनेटको प्रयोग हुने तथ्यांक छ । तर त्यहिं गाउँपालिकामा टेलिकमको टावरमा पटक–पटक समस्या आउने गरेको छ । टेलिकमको अन्तरिकभन्दा धेरै विद्युतका कारण नेटवर्कमा समस्या रहेको सुखौराका स्थानीय दुर्गा प्रसाद शर्माले बताए ।
सुखौरा, बाटाकाचौर, धुल्लुबास्कोटको सिग्दी र जैमिनी नगरपालिका–१० को नाम्दुक बजारमा टेलिकमको टावर छ । सबै नेटर्वकमा फोरजी इन्टरनेट सञ्चालनमा रहेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए । सबै टावरमा १० देखि १४ घण्टासम्म धान्ने व्याट्री व्याकअप रहेको उनको दाबी थियो । तर, नाम्दुक बाहेकका तीनवटै टावर भने बिद्युत बन्द भएको एकाध घण्टामा नै बन्द हुने गरेका छन् ।
‘सुखौरामा फोरजी चलेको छ, नयाँ व्याकअपले राम्रै काम गर्छ’ शर्माले भने ‘सिग्दीको टावरमा व्याकअप फेर्ने तयारीमा छौं ।’ विद्युतकै कारण उपभोक्ताहरुले टेलिकमका सेवा उपभोगमा समस्या खेप्दै आएको उनको तर्क छ । बरेङको सुखौरामा रहेको फोरजी टावरबाट मात्रै २४ घण्टामा ३ सय जिवी डाटा प्रयोगमा आउँछ । यो जिल्लामा नै धेरै हो । सरदरमा जिल्लाका अन्य फोरजी टावरहरुबाट २४ घण्टामा ९० देखि १०० जिवी डाटा मात्रै प्रयोगमा आउने गरेको तथांक टेलिकमसँग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->