पोखरा, २७ असार– पानीढलोको महत्व कति हुन्छ भन्ने दृष्टान्त खोज्न टाढा जानै पर्दैन । कालीगण्डकी डाइभर्सनलाई हेरे पुग्छ । कालीगण्डकीको पानी बुटबल लैजाने कि प्राकृतिक रुपले बग्न दिने भन्नेमा गण्डकी र प्रदेश ५ बीचको विवाद सकिएकै छैन । त्यसो त, उत्तरगंगाको पानी बागलुङको निसीखोलामा झार्ने कि भेरीतिरै पठाउने भन्नेमा पनि विवादै छ । ठूला बाँधको कुरा छाड्ने हो भने पानीको बगाई प्राकृतिक हुन्छ । बहावमा अवरोध ल्याउँदा त्यसले बितण्डा मच्चाउन सक्छ । अझ भनौं, आफ्नो बाटो आफै खोज्छ । पानीले आफ्नो बाटो खोज्दा त्यसले मानव बस्ती हेर्दैन, समथर खेत र पाखो पनि भन्दैन । देश बाढीपहिरोको कहरमा रहेको बेला ‘पानीढलो’को महत्व कति रहेछ भन्ने प्रष्ट भएको छ ।
नेपालको सन्दर्भमा विकासको पर्याय बाटो भएको छ । डाँडाकाँडामा मोटर पु¥याउने भन्दै खनिएका सडकहरुले एउटै डाँडोलाई सग्लो रहन दिइएको छैन । जतापायो त्यतै, वातावरणीय मूल्याङ्कन र सम्भावित क्षतिको आंकलन नगरि डोजर कुँदाइएको छ । डोजर त कुँदाउँदा त्यहाँको भू–बनौटको ख्याल गर्ने कुरै भएन । जनप्रतिनिधि र टाठाबाठाको स्वार्थ डोजरसँग जोडिन पुग्छ । अनि, त्यसले नै विपत्ति निम्त्याउँछ । यो बर्खेपानीले निम्त्याएको पहिरोमध्ये धेरेजसो त्यसरी नै बनाएका बाटाका कारण सृजित भएको पाइएको छ । ट्रयाक खोल्ने तर सम्पन्न नगर्ने प्रवृत्तिले पनि विनाश निम्याएको छ । पर्वतको दुर्लङमा बर्खा सुरु हुनासाथ गएको पहिरोको कारण बाटो नै थियो । पोखराको गोठादीमा पनि बाटो खनेको माटोले पर्खाल भत्काउँदा एउटै परिवारका ५ जनाले ज्यान गुमाएका हुन् । बाटो बनाउँदा गाउँमा रहेका प्राकृतिक पानीढलोहरु मासिएका छन् । छिरल्लिएर बग्ने बाटोकै कारण एकत्रित भएको छ र त्यसले नै विनास निम्त्याएको छ । ‘बाटो बनाउँदा यताबाट लैजाऊ, यता नलैजाऊ भन्ने दवाव आउँछन्’, लामो समय सहरी विकासमा काम गरेका इञ्जिनियर सूर्यप्रसाद बरालले भने, ‘सबै कुरा आफ्नो सुरुले गर्दा विनास हुने हो ।
यता, इञ्जिनियर किसानसिंह गुरुङका अनुसार अहिले गाउँघरतिर जथाभावी खनिएका बाटाहरु विकासको संवाहक नभई विनासका कारण बनेका छन् । उनी भन्छन्,‘प्राकृतिक कुरालाई चलायो भने त्यसले अर्को असर गर्छ । प्राकृतिक कुरालाई चलाउँदा आईईई अथवा ईआईए गर्ने चलन छ । पूर्वयोजना अनुसार काम गर्दा असर गर्दैन । असर भए त्यसलाई कसरी रोक्ने भन्ने तयारी पनि हुनुपर्छ । गाउँमा भएका बाटाघाटा बनाउँदा डोजर अगाडि लगाउँछन् ,डोजरको ड्राइभर नै इञ्जिनियर,डोजर नै सारा कुरा बनाएर बाटो खनेका हुन्छन्, त्यसले वातावरण बिगार्ने नै भयो । अर्कोतर्फ, स्थानीय निकायमा बजेट जाँदा यो क्षेत्रमा यति बजेट खर्च गर्नुपर्ने भन्ने निर्देशिका छ तर त्यसको अवज्ञा गर्दै ८० प्रतिशत बाटोमै जान्छ । त्यसले गर्दा वातावरणमा असर त पु¥याउँछ अनि बजेटको पनि दुरुपयोग हुन्छ ।
हामी इञ्जिनियर गएर गाउँतिरको बाटो हेर्दा त मन नै रुन्छ । कम्तिमा सोधिएको भए हुन्थ्यो भन्ने हुन्छ । ठूला विज्ञ नभए पनि साना पनि राख्न सकिन्थ्यो भन्ने लाग्छ । हाम्रो देशको विडम्बना नेताहरु आफै प्रशासक, आफै विज्ञ र आफै इञ्जिनियर हुन्छन्, बाटोको संयोजक पनि उनै हुन्छन् । उनीहरुले जे भन्छन् त्यही गर्नुपर्छ । विज्ञको कुरा सुनिँदैन । कसैले सोधे पनि प्रक्रिया पु¥याउन सोधिन्छ । आफूलाई अनुकूल हुने सल्लाह मात्रै सुनिन्छ । विना योजना काम भइरहेको छ । गाउँतिर जाँदा सबै डाँडा रातै देखिन्छ नि ! पूर्वाधार विकास गर्ने भन्छन् तर दीगो विकासको सोच नै छैन । बाटो खनेपछि माटोको व्यवस्थापन पनि हुँदैन । योभन्दा ठूलो विडम्बना के हुन्छ । हाम्रो पहाडी क्षेत्र हो, यहाँ ठूला आयोजना गर्दा अलिकति मात्रै पनि अध्ययन भयो भने विकास पनि हुन्छ, वातावरण पनि जोगिन्छ ।’
पोखरामा धेरै पानी !
मौषम पूर्वानुमान शाखाले देशभरै भीषणा वर्षा हुने जानकारी दिइरहँदा गएको २४ घण्टामा पोखरामा देशकै सबैभन्दा बढी २५०.९ मिलिलिटर वर्षा भएको छ । पोखरा विमानस्थलमा मापन गरिएको यो तथ्यले पनि बाढीपहिरोको जोखिम कति थियो भन्ने प्रष्ट पार्छ । यता म्याग्दीको दरबाङमा गरिएको वर्षा मापनले त्यहाँ बितेको २४ घण्टामा १५०.६ मिलिलिटर पानी परेको छ । म्याग्दीकै तातोपानी क्षेत्रमा भने बितेको २४ घण्टामा ५०.६ मिलिलिटर मात्रै वर्षा भएको थियो ।





