म्याग्दी, ३१ असार– मंगलबार साँझ म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ गुईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिपर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव बुधबार भेटिएको छ ।
गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भाँसिएर कालीगण्डकीमा खसेको हो । जिल्लाको मंगला गाउँपालिका वडा नं. ५ का बेपत्ता पुनको शव बुधबार बिहान अन्नपूर्ण गाउँपालिका वडा नं. ६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मृत अवस्थामा भेटिएका पुनलाई भुरुङ तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका थिए । सो टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । माथीबाट खसेको पहिरोका कारण साँघुरो सडकमा टिपर चलाउँदा दुर्घटना भएको स्थानीयको भनाई छ ।





