बागलुङ, ७ साउन– नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवश बागलुङमा एक कार्यक्रम गरेर मनाइएको छ । धौलागिरी अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा आइसोलेसनमा रहेका बिरामीका लागि फलफूल वितरण र वृक्षारोपण गरेर दिवश मनाइएको हो ।
दिवशको अबसरमा नेकपा गण्डकी प्रदेशका सचिव गोबिन्द नेपालीले राणा र राजाहरुको शासनबिरुद्ध लडेर जनताको शासन स्थापना गर्ने र समानता कायम गर्न पुष्पलालले खेलेको भूमिका अझै सान्दर्भिक रहेको बताए । उनले कम्प्युनिष्ट पार्टी गठन गरेको ७० बर्ष पुग्दा पनि अझै नेपालका कम्प्युनिष्टले पार्टीलाई एक ढिक्का बनाएर हिँड्न नसकेको बताए ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले कम्प्युनिष्टहरु पटक पटक ट्ुट्दै फुट्दै यहाँ आइपुग्दा पनि अझै फुटकै राजनीतिमा लागेको टिप्पणी गरे । उनले पुष्पलालको सिद्वान्त र नेपालको आवस्यकतालाई बुझेर फेरी एक भएर जानुको बिकल्प नरहेको पनि बताए ।
देशमा राजा भएर विकास भएन, एकतन्त्र भएर बिकास भएन भनेर ल्याएको गणतन्त्र र संघियतामा पनि विकास गरेर जनताको समस्या समाधान गर्न नसकेमा इतिहासमा राजनीतिक दलको स्थान कायमै नरहने पनि उनले बताए ।
नेकपा जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरेको संचालनमा भएको कार्यक्रममा सांसदहरु, जिल्ला स्तरीय नेता, पेशागत संगठनका प्रतिनिधिको सहभागिता थियो ।
पुष्पलालले २००६ साल चैत १० गते नेपालमा कम्प्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०३६ सालमा निधन भएका श्रेष्ठको स्मृतिमा हरेक बर्ष साउन ७ गते स्मृति दिवश मनाउने गरिन्छ ।
बुधबार पुष्पलाल स्मृति दिवश धौलागिरी अञ्चल अस्पतालमा मनाइएको थियो । दिवशमा फलफूल बितरण र दुईवटा विरुवा रोप्ने कार्यक्रम मात्रै थियो । तर त्यसका लागि पोखरामा रहेका नेतादेखि जिल्लाका नेताहरुले मञ्चनै खडा गरेका थिए । अस्पतालमा कुर्सीटेबुल राखेर भाषण गर्ने तयारीका साथ मञ्च बनाएर आइसोलेसनमा रहेका बिरामीका लागि केही फलफूल हस्तान्तरण गरियो ।
फलफूल बितरण र दुइवटा विरुवा रोप्ने कार्यक्रमका लागि गरिएको तामधाम देखेर केही कार्यकर्ताले असहज महसुस गरेका थिए । आसनग्रहणको शैलीले धेरैले भाषण गर्ने अवस्था देखेपछि केही जिल्ला स्तरीय कार्यकर्ताले कानेखुशी पनि गरेका थिए । उक्त बिषयको आशय बुझेपछि कार्यक्रममा आएका गण्डकी प्रदेशका सचिव गोबिन्द नेपाली र अध्यक्ष सापकोटाले मात्रै बोलेर कार्यक्रम टुंग्याइएको थियो ।





