बागलुङ, ८ साउन– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेकी लक्ष्मी जैसीले चौबिस बर्ष पुग्दा एक छोरा र एक छोरी जन्माइसकेकी थिइन् । कान्छी छोरी पेटमै थिइन् । श्रीमान अचानक बिरामी परेर उपचारका लागि भारत जाँदा मृत्यु भयो ।
श्रीमानले कान्छी छोरीको मुख देख्न पाएनन् । २०४९ सालमा श्रीमानको निधनपछि जैसीले सामाजिक रुपमा धेरै अपमानहरु खेपिन । विशेषगरी बिबाह, ब्रतबन्ध र अन्य शुभकार्यमा उनको उपस्थितिलाई समाजले नराम्रो रुपमा हे¥यो । शुभकार्यको तयारी भएपनि उनी घरबाट बाहिर समेत नगएको अनुभव छ ।
खड्गकुमारी खड्का ६८ बर्षकी भइन् । उनका श्रीमानले छाडेर गएको पनि २५ बर्ष भयो । २ छोरी हुर्काएर उनले कष्टकर जीवन कटाइन् । छोरा नभएकोले उनले भोगेका अपहेलना लक्ष्मी जैसीको भन्दा अझैबढी पिडादायी छ । छोरा नभएकोले कसले काजक्रिया गरिदिन्छ भन्ने अर्को प्रश्न उनीसामु उठ्थ्यो । ‘सामाजिक क्षेत्रमा निस्कने त वातावरण थिएन, घरपरिवार र छिमेकमा पनि शुभकार्य गर्दैछन् भने जानै पाइदैनथ्यो’ खड्काले भनिन्, ‘छरछिमेकका मानिस रमाउँदा हामी रोएर बस्नुपथ्र्यो ।’
बागलुङको गलकोटकी सीता थापा अहिले ४२ बर्षकी भइन् । उनले पनि श्रीमान गुमाएको २२ बर्ष भयो । २० बर्षको उमेरमा श्रीमान खसेपछि लाउँलाउँ र खाउँखाउँको उमेरमा सामाजिक तिरस्कारमा परिन् । ‘रातो कपडामा सजिएर हिड्ने बेलामा सेतो लुगा लगाउनु पर्ने बाध्यता सँगै रित्तो निधार देख्दा आँफैलाई डरलाग्थ्यो’ थापाले भनिन्, ‘तरपनि सतीप्रथा हटेकोले हामी बाँचेका छौं ।’ समाजमा नराम्रो दृष्टीले हेरेपनि श्रीमानसँगै सती जान नपरेकोमा भाग्यमानी भएको उनले बताइन् ।
तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले बिसं १९७७ साल असार २५ गते सती प्रथाको अन्त्य गरेका थिए । उक्त घटनाको स्मरण गरेर अहिले देशभरका एकल महिलाहरुले सतीप्रथा अन्त्यको स्मरण गरिरहेका छन् । ‘हामीलाई बाँच्ने अबसर दिएकोले राणा भएपनि महान छन्’ जैसीले भनिन्, ‘यो अबसर नपाएको भए पेटमै भएकी छोरीले पनि संसार देख्न पाउने थिइन ।’ अहिले जैसीका दुइ छोरी र एक छोरा आत्मनिर्भर भैसकेका छन् । २०६५ सालमा जिल्लामा उनीहरुले ‘मानवअधिकारका लागि एकल महिला’ संगठन खोलेका छन् । त्यसको जैसी कोषाध्यक्ष छिन् । खड्का अध्यक्ष हुन् । थापा सचिव छिन् । उनीहरुको अगुवाईमा जिल्लाका सयौंलाई समूह र संगठनमा आबद्ध गरेका छन् ।
गाउँगाउँमा पुगेर उनीहरुले एकल महिलाको अधिकार, सामाजिक सुरक्षा भत्तामा एकल महिलाको सहभागिता लगायतको बहस गर्छन् । रोजगारीमा एकल महिला भए प्राथमिकता दिनुपर्ने आबाज उठाउँछन् । ‘भत्ता नपाएकालाई दिलाएका छौं, कोरा कपडामै जीवन बिताएका दिदीबैनीलाई रातो लगाउन पनि भन्छौं’ खड्काले भनिन्, ‘रातो लुगा लगाएर हिड्दा समाजले सम्मान गर्छ, कोरा कपडामा हेलाहा गर्छ भन्ने अब उहाँहरुले बुझीसक्नुभएको छ ।’ एकल महिला समूहकै अभियानले आत्मनिर्भर व्यवसायमा लाग्ने अबसर जुटेको छ भन्छिन्, बागलुङकै टिका भण्डारी । उनले व्यवसायिक तरकारी तथा कुखुरा पालन गरेर छोराछोरी पढाएकी छिन् । सामाजिक रुपमा अहिले उनलाइ एकल महिला भनेर सम्मान गर्छन् । ‘श्रीमान छैन भनेपछि कमाई पनि छैन भनेर हेप्ने रहेछन्’ भण्डारीले भनिन्, ‘व्यवसाय गरेपछि मेरो हातमा पनि नियमित पैसा आउँछ, छोराछोरी पढाउन सकेकी छु, समाजले हेप्न पनि सकेको छैन ।’ सतीप्रथा अन्त्य भएकोले छोराछोरीलाई संसार देखाएर बाँच्न पाएको उनले बताइन् ।
अघिल्लो बर्ष एकल महिलालाई सामाजिक सुरक्षा भत्ता कटौती गर्ने चर्चा उठेपछि जिल्लाका अधिकारकर्मी र महिला संघसंगठनले बिरोध गरेका थिए । सरकारले उक्त निर्णय फिर्ता लिएपछि नियमित भत्ता पाइरहेका छन् । जेष्ठ नागरिकका लागि ६० बर्ष काटेको हुनुपर्ने प्रावधान भएपनि एकल भएको महिलाले भने तत्काल सामाजिक सुरक्षा भत्ता पाउने प्रावधान छ ।





