बागलुङ, २० साउन – भरुवा बन्दुकको छर्राले लागेर गलकोटमा एक किशोरको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १५ बर्षिय मिलन थापाको भरुवा बन्दुकको छर्रा लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीले बताए ।
जंगलमा राखिएको गोठमा नुन छाड्न गएको बेला ५ जनाको समूहमा रहेका टोलीबाट बन्दुक पड्केको प्रारम्भिक जानकारी छ । कसले किन बन्दुक पड्कायो भन्ने अहिलेसम्म खुलेको छैन । मृतक किशोर रमुवाका ४ जनासँगै जंगल गएका थिए ।
घटनापछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घटनास्थलबाट प्रहरीले शव उठाएको छ । प्रहरीले सँगै गएका चार जनालाई पक्राउ गरेको छ । सदरमुकाम ल्याउने क्रममा रहेकोले आएपछि थप अनुसन्धान प्रहरी निरीक्षक केसीले वताए । मृतककको शव धौलागिरी अस्पतालमा पोस्टमार्टम पछि परिवारको जिम्मा लगाईने छ ।





