बागलुङ, २० साउन – नेवार समुदायले मंगलबार बागलुङ बजारमा गाइजात्रा मनाएका छन् । सदरमुकामस्थित नारायणचोकबाट निकालिएको तायमचा बजार परिक्रमा गराई नारायणचोकमै लगेर बिर्सजन गरिएको हो ।
कोरोना संक्रमणको जोखिम रहेको भन्दै बजारको निश्चित स्थान मात्रै घुमाएर बिर्सजन गरिएको हो । एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाइजात्रा निकालिन्छ । बागलुङ बजारमा २० जनाको गाइजात्रा निकालिएको थियो । मल्लकालमा प्रताप मल्लले आफ्नो छोराको मृत्युमा रानीले शोक गरेपछि गाइजात्रा मनाउने चलन बसालेका थिए । त्यसपछि नेवार समुदायले झण्डै ३ सय वर्षदेखि यो पर्व मनाउँदै आएका छन् ।
गाइजात्रासँगै मृतकको स्मृतिमा लेख रचना बनाएर गाउने, बजारमा परिक्रमा गर्ने काम पछिल्लो समय घट्दै गएको छ । आर्थिक रुपमा सम्पन्न परिवारले केही समयअघिसम्म रामलिलाको रुपमा गाथा गाउने गर्थे । पछिल्लो समय भने रामलिला भने गर्न छाडिएको छ । धेरै खर्च लाग्ने, जानेबुझेका मानिस चाहिने र समय पनि लगाउनुपर्ने भएपछि यो चलन भने विस्तारै घटेर गएको नेपाल भाषा मंकाखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
प्रशासनले धेरै संख्यामा मानिस जम्मा हुन नदिने तथा भीडभाडबाट कोरोना संक्रमणको जोखिम हुने भन्दै रामलिला नगर्न आग्रह गरेको थियो । तायमचा भने २० वटा निकालिएको थियो । तायमचा प्रदर्शनका लागि पनि झण्डै २ सय मानिस सहभागी थिए । भीडमा कतिपयले मास्कसमेत नलगाएको भन्दै टिप्पणी पनि भएको थियो । सिंगो नेवार समुदायको संस्कार जोगाउने काम भएकोले केही भीड भएपनि छोटो समयमै काम सकिएको सहभागीले बताए ।





