बागलुङ, २० साउन– धौलागिरी बहुमुखी क्याम्पस बागलुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेसन कक्षमा कार्यरत २५ बर्षिय नर्समा कोरोना पोजेटिभ देखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।
प्रि–आइसोलेसनमा कार्यरत नर्समा कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको डा. पोखरेलले बताए । नर्समा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार राती नै धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।
आइसोलेसन कक्षमै उपचाररत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेको छ । अस्पतालका प्रमुख डा. पोखरेलले मंगलबार साँझ सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अस्पतालको ओपिडी सेवा बन्द गरिएको जानकारी गराईएको छ । संक्रमित युवतीसँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि ओपिडि सेवा बन्द गरेको डा. पोखरेलद्वारा जारी सूचनामा उल्लेख गरिउको छ ।
यसअघि बागलुङको जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । उनको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि धौलागिरि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको छ ।





