तनहुँ, २७ साउन–
– असार २८ गते राति १२ बजेतिर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा खसेको पहिरोले घर पुरिँदा आम्बबहादुर थापाले परिवारका पाँच जना सदस्य गुमाए । घरमाथिको सडक छेउबाट खसेको पहिरोले उनका दुई छोरा, दुई बुहारी र एक नातिनीलाई पु¥यो । भोलीपल्ट शव भेटियो । त्यहीपहिरोले बस्तीलाई धरापमा पारेपछी स्थानतरणको तयारी हुदैँछ ।
– असार २९ गते बिहानपख भीषणबर्षा भएपछि व्यास नगरपालिका–११ ओडारेमा अस्तबहादुर भुजेल चेपाङको घरमाथिको सडकबाट झरेको पानीको भलले घर जोखिम भएपछि भल तर्काउन दाजु पदम भुजेल चेपाङलाई गुहारे । भाईको घर जोगाउन भएका ५२ वर्षीय पदमले भाईबुहारीलाई त बचाए, तर आफू सधैका लागि अस्ताए । सडकभन्दा माथिबाट एक्कासी पहिरो खसरे गल्र्यामगुर्लुम घर लड्यो । घरले पुरिएर पदमलाई पनि लडायो । सायद त्यहाँ सडक नभएको भए अस्तबहादुरको घरलाई नै जोखिममा पार्ने गरी पानीको भल खस्थ्यो, न त पदमको ज्यान नै जाने थियो !
– असार २८ गतेराति परेको भीषण वर्षापछिको पहिरोले म्याग्दे गाउँपालिका–२ नयाँगाउँमा १२ घर र पिपलडिहीमा ७ घर विस्थापित भए । सयौँ रोपनी खेतीयोग्य जग्गा पुरिएको छ । बस्तीमा खनिएका सडकले नै घरखेत सबै तहसनहस बनाईदियो ।
यी त तनहुँका उदाहरण मात्रै हुन । असार अन्तिम सातादेखी परेको अविरल बर्षापछिको बाढी पहिरोले यहाँका थुप्रै बस्तीमा सडकबाट पहिरो खसेर घर पुरिएका छन् । बस्ती नै जोखिममा छन् । डाँडाकाडाँ छियाछिया देखिन्छ ।
सडक खनिएका अधिकांश स्थानमा यो वर्ष पहिरो खसेको म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताए । ‘सडक नखनेका गोरोटो बाटो भएका डाडाँहरुमा पहिरो खसेको छैन । जुन डाँडोमा सडक खनेका छौँ, त्यहाँपहिरो खसेको देखिन्छ’, उनले ढोरपाटनसंग भने ।
सडकलाई विकासको प्रमुख आधार मानिन्छ । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकाससँग जोडिन्छ सडक । तर, विकासका ल्याउन गाउँगाउँमा खनिएका सडकले धेरै विनास निम्त्याउदैछन् ।
धेरै स्थानमा प्राविधिकको सर्वेक्षण बिना नै सडक खनिएका छन् । यदि प्राविधिकले सर्वेक्षण गरिहाले पनि सडक खन्ने बेलामा इञ्जिनियर डोजरका चालक नै बन्छन् ।
सडक खन्दैगर्दा भित्तोतर्फ खनेर छेउमा माटो थुपारिन्छ । माटो थुप्रिएर ढिस्को बन्छ । त्यही ढिस्कोलाई वर्खाको वर्षाले गलाएर पहिरो बनाउँछ । अनि पहिरो बनेर खस्छ बस्ती र खेतबारीमा ।
जथाभावी सडक खन्दा त्यसबाट हुने क्षतिबारे अनविज्ञ हुदाँ दशकयता गाउँमा पुगेको सडक घरघरै लैजाने एक प्रकारको होडबाजी नै चलेको छ । जनप्रतिनिधीले पनि विकासमा सडकलाई नै प्राथमिकता दिएको पाईन्छ । जता पनि योजनाविहिन सडक सञ्जालले जोड्ने होडबाजीले विनास निम्ताएको विज्ञहरु बताउँछन् ।
भूर्गवविद् श्रीकमल द्विवेदी धेरैजसो पहिरो सडककै कारण गएको बताउछन् । ‘सडक खन्दा धेरैजसो ठाउँमा भित्तो खोतलेर ढुङ्गा माटो खोल्सीमा फाल्ने अभ्यासका कारण पहिरो गएका छन्’, उनले भने, ‘सडकबाट बगेको पानीको निकास नहँुदा खोल्सीमा सडक खन्दा फ्याँकेको ढुङगा माटोलाई बगाएर तल्लो बस्तीलाई पुर्ने र कटान गर्ने गरेको छ ।’
पहाडमा गाउँको हरेक घरमा सडक लैजान सम्भव नै छैन । सडक खन्दा वैज्ञानिक तरिका अपनाउनुपर्ने र जथाभाबी सडक खन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भूर्गवविद् द्विवेदी बताउछन । ‘जथाभावी एक्साभेटर दौडाउँदा धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ पछि गएर ।’ जिम्मेवार निकायले योजनाबद्ध ढङ्गले भूगोलको सर्वेक्षण गरेर मात्र सडक खन्नुपर्ने उनको जोड छ ।
डोजरे विकासले विनास निम्त्याएको भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका प्रमुख वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले बताए । ‘डोजर लगाएर पहाड भत्काउने, विकासको नाममा विनास गर्ने । न त्यहाँ वातावरणमैत्री कुरा जोडिएको छ, न भूसंरक्षणमा जोड दिइन्छ ।’ प्रकृतीसंग पैठेजोरी खेल्दा ठुलो क्षति हुने गरेको छ । वैज्ञानिक र योजनाबद्ध तरिकाले सडक विस्तार गर्न पौडेलको सुझाव छ ।
तस्बिर : १. ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा सडकबाट खसेको पहिरो ।
२. शुक्लागण्डकी नगरपालिका–६ दरगाउँमा सडकको कारण पहिरो खस्दा भत्किएको घर ।





