पोखरा, २७ साउन– पोखरामा पछिल्लो समय स्थानीयमा कोरोना भाइरस देखिन थालेको छ । पोखरामा दैनिकीसँगै सर्वसाधारणको चाप बढिरहँदा स्थानीयमै कोरोना देखिन थालेको हो । सोमबार पोखरा महानगर वडा नम्बर २७ को कार्यालयमा कार्यरत कर्मचारी महिलासहित वडा ५ का ३७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै पोखरामा संक्रमित स्थानीयको संख्या भने ६० पुगेको छ । ४० वर्षीय महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय परिसर सिल गरिएको छ । कार्यालय आगामी ३० गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष पूर्णसिंह गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङसहित अन्य दुई महिला कर्मचारीले शनिबार पिसिआर परीक्षण गरेका थिए । दिर्घरोगीसमेत रहेकी महिलामा कोरोना पुष्टि भए पनि वडा अध्यक्ष र अर्का महिला कर्मचारीको नतिजा भने नेगेटिभ आएको थियो । बिहीबारदेखि ज्वरो देखिएको ती कर्मचारीले शुक्रवारसम्म कार्यलयमा काम गरिरहेकी थिइन् । संक्रमित महिला पोखरा– २६ की हुन । ‘स्वास्थ्यमा निकै ख्याल राख्ने व्यक्ति हुनुहुथ्यो कसरी कोरोना लाग्यो थाहा भएन । हामी ३ जनाको परीक्षण गरेका थियौंँ, २ जनाको नेगेटिभ आएको छ’, वडा अध्यक्ष गुरुङले भने ।
पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अव सर्वसाधारण आफै सचेत नभए कोरोना संक्रमण बढ्ने बताए । ‘अहिले पोखराका स्थानीय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितकै सम्पर्कमा आएका सहित गरेर ६० जना छन्’, पौडेलले भने । पछिल्लो समय कोरोना समुदयमा फैलिइसकेको हुन सक्ने देखिन्छ । ‘अब कोरोना जो कोहीमा पनि देखिन सक्छ । कतिपय संक्रमित कहाँबाट आएको भन्ने कुरानै पत्ता लागेको छैन यस्ले गर्दा पनिआफै सचेत हुनुपर्ने अवस्था देखिन्छ’, उनले भने । कानूनले मात्र सचेत गराएर रोग नियन्त्रण तथा रोकथाम नहुने उनको धारणा रहेको छ । कोरोना विरुद्धको लडाइ सर्वसाधारण आफैले लड्न आवश्यक रहेको उनले सुनाए । ‘ नागरिक आफै सर्तकता हुनुपर्ने स्थिति आएको छ । महानगरभित्रका हरेक होटल, रेष्टुरेण्ट तथा चलायमान भएका सबै व्यवसायलाई स्वास्थ्य मापदण्डको नियम पालना गर्न निर्देशन दिएका छौँ’, उनले भने । महानगरभित्र पीसीआर परीक्षणको मात्रा बढाउने तयारी भएको उनले बताए । उनका अनुसार यसका लागि प्रदेश सरकारसँग समन्वय भिइरहेको छ । कोरोना लागेकामध्ये ९ जना कहाँबाट आएका हुन, कहाँ गएका हुन् वा कोसँग सम्पर्कमा आएका हुन् भन्ने कुनै विवरण नै छैन । जसको कारणले पोखराको स्थिति भयावह हुन सक्ने अनुमान गर्न सकिन्छ ।
‘संक्रमित ९ जनाको यात्रा विवरण नै छैन । कहाँबाट आए वा कतै गएका हुन या होइनन् भन्ने अझै द्धिविधामा छौँ’, पौडेलले भने । संक्रमितले आफ्नो सम्पुर्ण यात्रा विवरण नदिँदा थप जटिल हुन सक्ने उनले बताए । कोरोना संक्रमणबाट बच्न नागरिक आफै सचेत हुन उनले आग्रह गरे ।
पोखरा सहित गण्डकी प्रदेशमा सोमबार ८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कुल ५ सय ६३ परिक्षण मध्ये प्रदेशमा ८ जना संक्रमण भएको पुष्टि भएको हो । पोखराका २ सहित नवलपुर गैडाकोट–२ का ३२ वर्षीया एक महिला र ३७ वर्षीय एक पुरुष, पर्वत मोदी गाउँपालिका–६ का ५२ वर्षीय पुरुष, स्याङ्जा गल्याङका ४५ वर्षीया महिला, तनहुँ भानु–१ का ३४ वर्षीय पुरुष र बन्दिपुर–५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशमा संक्रमितको संख्या एक हजार ६ सय २० पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।




