बागलुङ, २७ साउन– दर्जनबढी पर्व र मेला मनाउने नेवारी समुदायले यो वर्ष औपचारिकता मात्र गरेर जात्राहरु स्थगित गरेका छन् । उनीहरुले कोरोनाको कहरप्रति संवेदनशिलता देखाएर जात्रा रोक्नुपरेको बताए ।
कोरोना कहरले भीड जम्मा हुन नदिंदा जात्रा रोकिनु एकातर्फको कारण हो भने पछिल्लो समय नेवारी जात्राका लागि कलाकार र आर्थिक पक्ष सबैभन्दा बढी चुनौतीको रुपमा देखिन थालेको छ । लाखे नचाउनेदेखि हनुमान नाँच र जोगी नाँचसम्मका कलाकार बिस्तारै लोप हुने अबस्थामा पुगेका छन् । बाजागाजा बजाउने कलाकारसहित त्यसको व्यवस्थापन, लत्ताकपडा समेतमा बर्षेनी हुने खर्च धान्न नसकेपछि क्रमश ः जात्राहरु घटाउने क्रम चलेको हो । लाखे लगाउन पर्दापनि पोखरा बस्ने आशिष शाक्यलाई बोलाउनुपर्ने भैसकेको छ’ शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले भने, ‘खर्चको जोहो गर्ने काम पनि उत्तिकै चुनौति छ ।’ केही वर्षदेखि ती युवा आएको बेला मात्र लाखे नचाउने गरिएको समेत उनले बताए ।
नेपाल भाषा मंकाखल र शाक्य कल्याण समाजले कलाकार जुटाउन धेरे प्रयास गरेपनि खर्च धान्न नसकेर छाडेका छन् । आर्थिक भार तथा युवामा कलाकारिताप्रति चासो कम भएपछि पर्व मनाउन पनि कठिन परेको उनीहरु बताउँछन् । ‘कलाकारहरु धेरै भएनन् भने जोगी नाँच देखाउनै सकिंदैन’ शाक्यले भने, ‘बजाउने देखि नाच्ने कलाकार र बिधि पु¥याईदिने पाका पुरानाको पनि आवस्यकता पर्छ ।’ नाच्न जानेकाहरु अधिकांस बिदेश हानिए । केही युवा पढ्ने र जागिरका लागि काठमाण्डौ र पोखरा छन् । बागलुङमा कोही नभएपछि अधिकांश पर्व औपचारिकतामा मात्रै सीमित छन् । यो वर्ष कोरोना संक्रमणको डरले प्रशासनले रोक लगाएपछि झनै लोप हुने अबस्था आएको उनले बताए ।
तीनसय वर्षअघि बागलुङ आएर बसेका नेवारले मनाउने चाडपर्व मध्ये दर्जनबढी जात्रामा ५ जना देखि ४० जना सम्म कलाकार आवस्यक पर्छ । एउटा बिधा जानेको कलाकारले अर्को बिधा जान्दैन । ‘सबै पर्वका कलाकारिता गर्न सक्ने एकदुइजना पनि छैनन्’, शाक्यले भने, ‘मेहेनत गरेर सिक्नेपनि नपाएपछि सीप लोप हुन लागेको हो ।’ उनीहरुले बेलाबेला तालिम संचालन गर्न खोज्दापनि न प्रशिक्षक र प्रशिक्षार्थी पाउन नसकेको बताउँछन् । वर्षेनी कम्तिमा १० लाख खर्चेर मात्र नेवारका पर्व मनाउन सकिने उनले बताए ।
कोरोना भाइरसको संक्रमणको जोखिम भएकोले गाइजात्रालाई औपचारिकता मात्रै दिए । मृतकहरुकै संझनामा निकालिने बास्सा ना“च निकाल्न छाडेको धेरैवर्ष भैसकेको छ । बर्षभरी मृत्यु भएका व्यक्तिको इतिहास र सामाजिक योगदानको गीत र जीवनी लेखेर बाचन समेत गरिने परम्परा अहिले हटेको मंकाखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । ‘रामलीला केही वर्षदेखि लोप जस्तै भएको छ’, उनले भने, ‘खर्च धेरै लाग्ने डरले समूहमा पनि गर्न छाडिएको छ ।’ कोष नभएकोे हरेक वर्ष चन्दा उठाएर नाँच, संस्कृतिका लागि पोशाक, बाजा र कलाकार खर्च जुटाउने गरिने उनले बताए । पाँच वर्षअघि बागलुङका १७ परिवारले सामूहिक रामलीला निकालेका थिए । त्यसपछि सामुहिक काम पनि हुन छाडेको छ । बाघ जात्रा नदेखेको दशक भैसकेको नेवारहरु नै बताउँछन् । होली पर्वमा गाउने गरिएका राजबली मनाउन छाडेको पनि वर्षौँ भैसकेको मंकखलका पूर्व अध्यक्ष काजी गाउँले श्रेष्ठले बताए । रामायणमा आधारित कथा बाचन गर्दै मनाउने पर्वमा कण्ठ पार्ने व्यक्ति नभएको, लेखौटहरु लोप भएकोले संस्कृति नै हराइसकेको उनले बताए ।
मगर संस्कृतिका पर्व पनि लोप हुने अबस्थामा पुगेका छन् । अर्गली मगरले मनाउने पर्वहरु ताराखोलामा धानिएका छन् । सोरठी र सती घाँटु जस्ता लोक संस्कृति भने लोप जस्तै भएका छन् । ती संस्कृति भने कलाकार अभावमा लोप भएका हुन् । ‘वडा तहमा बजेट बिनियोजन गरेर संरक्षणको तयारी गरेका छौं’, गलकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्बरबहादुर श्रीषले भने, ‘बजेट जुटाएपनि युवा पुस्तामा कलाकारिता जोगाउने चासो हरायो ।’ बसाई सराई र रोजगारीका लागि सहर पस्ने चनले युवा बिहिन गाउँमा संस्कृति जोगाउने पर्व मनाउन नसकिएको उनले बताए ।





