पोखरा, २९ साउन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोर्षका किताब घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिनेगरी सबै विकल्पहरुका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।
बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक परिषदका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले कोरोनाको महामारीका कारण शैक्षिक सत्रमा क्षति भएको भन्दै शैक्षिक सत्र खेर जान नदिने गरी विकल्प तयार गर्न निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले पाठ्यभार घटाउन मिल्ने ठाउँमा घटाएर, अनावश्यक विषयबस्तु हटाएर, अर्को शैक्षिक सत्रको केही समय लिएर र अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि शैक्षिक सत्रको क्षतिपूर्ति हुनेगरी तयारी गर्न पनि निर्देशन दिए । ‘कोरोनाको महामारीका कारण यो शैक्षिक सत्रमा ठूलो क्षति पुगेको छ, पाठ्यक्रम विकास केन्द्रले कुन–कुन विकल्पमा हामीले काम गर्न सक्छौँ भन्ने गृहकार्य गरोस्’ उनले भनेका छन् ‘शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा तयारी गरौँ । ’हाल विद्यालय तहमा कक्षा १२ सम्म करीब ३५ हजार विद्यालय र ८० लाख विद्यार्थी छन् ।





