म्याग्दी, ३० साउन– म्याग्दीमा पर्यटकीय सम्भावना बोकेको केभहिल अर्थात् गुफाको तीन वर्षअघि निर्माण शुरु गरिएकोे भ्यु–टावरले अझै पूर्णता पाउन सकेको छैन ।
स्थानीय तहले पर्याप्त बजेट छुट्याउन नसक्नु, उपभोक्ता समितिले समयमा काम नगर्नु र कोरोना भाइरसका कारण जगन्नाथ भ्यु–टावरको निर्माणमा ढिलाई भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित केभहिलको डिलमा भ्यु–टावर निर्माणको काम जारी रहेको छ । तीन वर्षअघि भ्यु–टावर निर्माणको काम सुरु गरिए पनि अहिलेसम्म पूर्णता पाउन नसकेको हो । वडा र नगरपालिकाले समयमै बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गराउन नसक्दा भ्यु–टावर निर्माणमा ढिलाई भएको हो ।
जगन्नाथ मन्दिरको प्रचार प्रसारसहित गाजनेमा पर्यटन बढाउने उद्देश्यले केभहिलमा भ्यु–टावर निर्माण कार्य अगाडि बढाइएको थियो । तर समयमै बन्न नसकेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खासगरी वडा कार्यालय र बेनी नगरपालिकाले भ्यु–टावर बनाउन नसकेको स्थानीयले बताएका छन् ।
गाजनेमा भ्यु–टावर निर्माणका लागि आर्थिक वर्ष ०७४÷७५ मा बेनी नगरपालिकाबाट एक लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । भ्यु–टावर निर्माणका लागि नगरप्रमुख, उपप्रमुखको उपस्थितिमा शिलान्यास गरिए पनि थप काम हुन सकेन ।
यसैगरी ०७५÷७६ मा पाँच लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भ्यु–टावर निर्माणको करिब ५० प्रतिशत काम सकिए पनि बजेट अपुग भएको थियो । गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा कोरोनाका कारण समयमै जनशक्ति र निर्माण सामग्री पु¥याउन नसक्दा निर्माणको काममा समस्या भएको छ ।
त्यस्तै भ्यु–टावर निर्माणको जिम्मेवारी लिएका व्यक्तिले पनि समयमै काम नगर्दा बजेट फ्रिज भएकाले काम गर्न नसकिएको जगन्नाथ भ्यु–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए । यता निर्माण व्यवसायी रवि बानियाँले भने उपभोक्ता समितिको ढिलाई, नगरपालिकाले समयमै स्टमेट नबनाउनु र लकडाउनले गर्दा भ्यु–टावर निर्माणमा समस्या भएको बताए ।
कुल ३६ फिट उचाइको भ्यु–टावरको १ सय ७६.७१ वर्गफिट क्षेत्रफल र ७ उक्लने–ओर्लने भागहरु छन् । एकपटकमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सकिने क्षमताको भ्यु–टावरका सबै संरचनाहरु फलामको प्रयोग गरिने भएको छ । भ्यु–टावर निर्माणको लागत स्टिमेटअनुसार कुल २० लाख ६९ हजार पाँचसय ५६ रुपैयाँ रहेको छ ।





