पोखरा, ३० साउन– आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति–एक मास्क, एक घर एक साबुन र व्रोसर’ अभियान सुरु गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि पालिकाले सचेतनाका लागि स्वास्थ्यकर्मीसहितको टोली पालिकाका सबै घरमा पुग्ने गरि यो अभिायन सुरु गरेको हो ।
नागरिक आफै सचेत नभएसम्म स्वास्थ्य सुरक्षा सम्भव नहुने भएकाले पालिकाले बिहीबारबाट यो अभियान सुरु गरेको अध्यक्ष युवराज कुवँरले बताए । अभियान अन्तर्गत सवै व्यक्तिलाई मास्क, पालिकाले तयार गरेको ब्रोसर र साबुन पुराउने गरी पालिकाले स्वास्थ्यकर्मी, कर्मचारी र शिक्षक सहभागि टोली बनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सामाजिक दूरी कायम नहुने भएकाले त्यसलाई कार्यान्वयन गर्न पनि अध्यक्ष कुवँरले सबैलाई आग्रह गरेका छन् । ‘कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण छ’, अध्यक्ष कुवँरले भने, ‘यसका लागि व्यक्तिगत सरसफाई, खाना र पानीको स्वच्छता तथा घरेलु फोहोर ब्यवस्थापनमा ध्यान दिनुपर्दछ ।’
गाउँपालिकाको अभियानलाई सफल पार्न नेलम्बो नेपालले सर्जिकल मास्क ३० हजार पिस, ब्रोसर १५ हजार थान र अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजले ७ हजार थान हातधुने साबुन प्रदान गरेका छन् । कोरोना रोकथाम, उपचार र नियन्त्रणमा पालिकाले सुरु गरेको अभियानमा सहयोग पुराउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वताए ।
स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कोरोना समुदायमा पुग्न थालेकाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत सचेतनालाई बढी जोड दिएको बताए । स्थानीय उत्पादनमा जोड दिँदै उनले अर्गानिक खानाले रोगप्रतिरक्षा शक्ति बढाउने भएकाले कोदोको खाद्य बैंक बनाउनेलगायतका कार्यक्रम पालिकाले अगाडि सारेको जानकारी दिए । उपाध्यक्ष सगुन गुरुङ र स्वास्थ्य शाखा संयोजक ऋषिराम पौडेलले गाउँपालिकाको अभियानलाई सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको वताए ।





