पोखरा, ३२ साउन– पानीको सतह बढेर सेती बगर पूरै भरिएको छ । धनबहादुर तामाङ बिहानैदेखि पानीको सतह कतिबेला घट्ला भनेर हेरेर बसेका छन् ।
हिउँदयाममा सुख्खा रहने रामघाटले बर्खा लागेपछि रुप फेर्छ । अरु बेला घाम लाग्ने बित्तिकै पानीको सतह कम हुन्थ्यो । तर, यसपालि पाँच दिन बितिसक्दा पनि पानीको सतह उस्तै छ । धनबहादुरलाई पानीको सतह कहिले घट्ला र बालुवा निकाल्न जाउँला भनेर बसेका छन् । बिहानदेखि पानीको सतह हेरेर बसेका छन् उनी । तर, अह ! पानीको सतह घट्न छाँटकाटै छैन ।
धनबहादुरसँगै अरु ४÷५ जनाको समूह पनि छ । तर, धनबहादुर अलि पाका लाग्छन् । हुन् पनि गएको बैशाखमा ५७ पूरा गरेर ५८ मा पाइला टेके धनबहादुरले । अरु, त्यस्तै ३०÷३१ आसपासका हुँदा हुन् । उनीहरु पनि पानीको सतह घट्ला र काममा फर्किउँला भनेरै बसेका छन् ।
धनबहादुरको पूरानो घर तनहूँ रहेछ । पोहोर साल श्रीमती खसिन् । बुढाबुढी गाउँकै खेतबारी खोस्रेर जेनतेन जिविका चलाइरहेकै थिए । आफ्नो भन्ने जीवनसाथी नै नरहेपछि धनबहादुरको मन गाउँमा बसेन् । श्रीमती त उनलाई एक्लै छाडेर स्वर्गको बाटो लागिन् । उनलाई त सजिलै भयो । पर्नु बज्रपात त धनबहादुरलाई नै प¥यो । भएको एउटा छोरालाई गाउँमै छोडेर काम खोज्दै हानिए सहरतिर ।
सहरमा पनि भनेजस्तो काम पाइएन् । पाउन पनि कसरी ? हातमा सीप केही थिएन । अनि, उनी हातमा साबेल र थुम्से बोकेर सेती किनारमा । ‘छोराले अहिले एसइई दिने हो । त्यो पनि लकडाउनले रोकियो भन्छन्’, खुइड्ढय सुस्केरा हाल्दै उनले भने, ‘बुढी त पोहोर साल बितेकी हो ।’
तीन महिना जति त कोठामित्रै थुनिएर बसे, धनबहादुर । कोरोना भाइरस रोकथामको लागि सरकारले देशमा लकडाउन जो जारी गरेको थियो । बालुवा मात्रै थुपारेर पनि के गर्नु ? सबैतिर ठप्प थियो । बिचमा महानगरले दिएको राहत पनि पाएका रहेनछन् ,उनले । दिनभर काम गरेर बिहान बेलुकाको छाँक टार्ने धनबहादुरलाई महानगरले दिएको राहतले तीन महिना धान्न हम्मेहम्मे प¥यो । आफू मात्र खाएर पनि भएन । गाउँमा छोरालाई पनि पठाउनै प¥यो ।
लकडाउन खुल्यो । बीचमा केही समय काम पनि पाए धनबहादुरले । जे होस् काम चलिरहेकै थियो । ‘खै, बीचमा त अलिअलि काम भइराखेकै थियो बाबु ! ठूलो पानी आयो भने बगर पूरै पानीले भरिइहाल्छ, अस्ति जम्मा गरेर राखेको बालुवा पनि बगाइदिएछ’, उनले अघि सुनाए ।
पानी पर्न थाल्यो कि धनबहादुरलाई पीर पर्छ । पानी प¥यो भने पानीको सतह बढी हाल्छ । किनकि उनलाई थाहा छ, पानी प¥यो भने सेतीको खोच थुनिएर बगर पानीले भरिन्छ । उनी उनले बालुवा चाल्न पाउँदैनन् । अस्ति पानी कम हुँदा एक÷दुई भारी बालुवा जम्मा पारेर राखेका रहेछन् धनबहादुरले । दुई भारी बालुवाले टीप पुग्दैन । एक टीप बालुवा पु¥याए उनको हातमा २५ सय रुपैयाँ पर्छ । त्यै पनि कहिलेकाहिँ त लेखपढ गर्न नजानेकै कारण ठेकेदारले छक्याइहाल्छ । एकै छिनमा सेतीको आकाशमाथि कालो बादल मडारिन थाल्यो । धनबहादुरले मनमने भने, ‘अब त पानी नपरे नि हुन्थ्यो ।’





