बागलुङ, ७ भदौ– बागलुङ नगरपालिकाले एकतर्फी रुपमा सम्झौता तोडेको भन्दै धौलागिरी फोहोर व्यवस्थापन सहकारी संस्थाले आपत्ती प्रकट गरेको छ ।
आइतबार सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बिज्ञप्ती प्रकाशित गरेर सम्झौता अवधि बाँकी हुँदा–हुँदै एकतर्फी सम्झौता तोडेको आरोप लगाए । नगरपालिकाले साउन ३२ गतेको बैठकबाट सम्झौता तोडेको थियो ।
सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ को फोहोर उठाउनका लागि नगरपालिकाले दुइवटा सवारी साधन सहकारीलाई दिएको थियो । साथै ६ जना कर्मचारी पनि दिएकोमा केही समयअघि विवाद उत्पन्न भएपछि कर्मचारी हटाएको थियो । तर एकाएक सम्झौता तोडेकोमा आश्चर्यचकित भएको भन्दै नगरपालिकाले दिनुपर्ने रकमसमेत नदिएको अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् ।
यता, नगरपालिकाले भने अघिल्लो वर्ष इन्धन र मर्मतका लागि खर्चेको रकम बेरुजुमा देखिएको र फिर्ता नभएको समेत आरोप लगाएको छ ।
श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भने ल्याण्डफिल्डमा विद्युत जडान गरेको, गार्ड घर बनाएको लगायतको खर्चसमेत नदिएको आरोप लगाएका छन् । २०७२ साल फागुन १२ गतेदेखि सम्झौता भएर सहकारीले नियमित फोहोर संकलनको काम गरिरहेको थियो ।
पटक पटक फोहोर समयमा नउठेको र मनोमानी शुल्क तोकेकोजस्ता आरोप पनि सहकारीले खेप्दै आएको थियो । नगरपालिकाले भने संकलित शुल्कको हिसाब नदिने, नगरपालिकाको अनुदान मात्र दिंदा बेरुजु बढेको र स्पष्ट हिसाब नआएपछि पटक पटकको चेतावनीपछि मात्रै सम्झौता तोडिएको प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी गराएका छन् ।





