बागलुङ, ८ भदौ– बागलुङ नगरक्षेत्रका धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण, जिर्णोदार र पुन निर्माणका लागि पुरातत्व विभागले ७० लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटले नगरक्षेत्रकै सबैभन्दा अग्लो स्थानको पर्यटकीय स्थान संसारकोट पुननिर्माण हुनेछ । त्यसबाहेक भैरवस्थान र गणेशमन्दिर संरक्षण पनि गरिने बताइएको छ ।
विभागमार्फत बजेट आएकोले रोकिएको संसारकोटको भग्नावशेषको दरवार पुननिर्माण हुने भएको हो । वडा नं. ७ र ५ को सिमानामा रहेको संसारकोट पुरानो राज्य र तत्कालिन राजदरवारसँग सम्बन्धित भएकोले पुरातत्व विभागले पुननिर्माणका लागि बजेट विनियोजनसमेत गरेको हो ।
पुरातत्व विभागले चालु वर्षका लागि विनियोजित ७० लाखमध्ये संसारकोटका लागि ३० लाख बजेट विनियोजन गरेर पुननिर्माणको काम थाल्ने निर्णयसमेत गरेको हो । शनिबारको विभाग स्तरीय निर्णयले ३० लाख बजेट विनियोजन गरेर राजेश परियारलाई अनुगमन अधिकृतसमेत तोकेको छ । उक्त बजेट चालु वर्ष बागलुङ नगरपालिकाको खातामा आउने छ । रकम आएपछि नगरपालिकाले कार्यान्वयनको काम थाल्ने बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।
साथै चालु वर्षकै लागि विभागले वडा नं. १२ को प्रसिद्ध कालभैरव मन्दिर संरक्षण कार्यक्रमका लागि पनि ३० लाख बजेट विनियोजन गरेको छ । चालु वर्षकै लागि वडा नं. ३ को गणेश मन्दिर जिर्णोदारका लागि पनि १० लाख बजेट विनियोजन भएको छ । बागलुङ नगरपालिकाले बनाएको पर्यटन प्रवद्र्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जिर्णोदार कार्यक्रमका लागि यो बजेटले साथ दिने सुवेदीले जानकारी दिए ।
भैरवस्थानमा भने धार्मिक भक्तजनहरु बढी जान्छन् । यहाँ वर्षभरिनै भक्तजनको भीड लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ । तर आर्थिक अभावमा कामले गति लिन सकेको थिएन । केही वर्षदेखि यहाँ गाडी पार्किङ, पर्खाल र सत्तल निर्माण तथा मन्दिर व्यवस्थापनको काम भैरहेको थियो । चालु वर्ष आएको ३० लाख बजेटले थप व्यवथापकीय काम तथा पुरातात्विक क्षेत्र संरक्षणमा सहयोग पुग्ने वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । गणेश मन्दिर पनि बागलुङ बजारबासीको आस्थाको केन्द्रको रुपमा चिनिएको छ । यहाँ १० लाख रुपैयाँले मर्मत र जिर्णोदार गरिने छ ।






