पोखरा, १० भदौ– लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण देखिएको छ । लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोवल आइएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । बेसिसर वडा नम्बर ८ का अन्य २ जनामा पनि संक्रमण देखिएको छ ।
यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पुष्टि गरे । यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन् । नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला, ३० र २४ बर्षिया पुरुषमा पनि संक्रमण देखिएको छ । नवलपुरकै कावासोतीमा २ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । बुधबार बिहान मात्रै गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिएका छन् । सबै परीक्षण प्रदेश क्षयरोग केन्द्रमा रहेको प्रयोगशालामा भएको थियो । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ९ सय ४५ र निको हुनेहरुको संख्या १६४३ पुगेको छ ।





