समग्र पोखरा महानगरको विकास गर्न कतिको समस्या रहेछ ?
मलाइ के लाग्छ भन्दाखेरि विकास गर्न कठिन त अवश्य नै हो । तर, असम्भवलाई सम्भव बनाउने कुरामा नेतृत्वको पनि भूमिका रहँदो रहेछ भन्ने कुरा महशुस गरेको छु । मैले किन जोड्न चाहेको भन्दा, त्यहा धेरै कुराहरु पर्यटनदेखि लिएर खोलाजन्य स्रोतहरुको व्यवस्थापन गर्न सक्यो भने महानगर धेरै प्रतिशत आत्मनिर्भर बन्न सक्छ ।
स्थानीय सरकार आएपछि र तपाईंले वडाको नेतृत्व लिएपछि वडाको विकास कसरी गर्नुभएको छ ?
हामी निर्वाचित भएर आएको ३ वर्ष पूरा भएर ४ वर्षमा लागेको छ । यसमा हामिले सुरुदेखि नै विकासका कुराहरु ग¥यौं । केही विकासका कुराहरु, निर्माणका कुराहरु हामीले सामान्य काम गरेका छौ । ती सामान्य विकास हिजो कर्मचारीको पालामा पनि हुन्थ्यो । तर, आज कर्मचारीले गर्न नसकेका विकासका कुराहरु हामीले गरेका छौं । जस्तै सिदार्थ चोकको ढल व्यवस्थापनको कुरामा, विन्धवासिनी वडा १ देखि वडा २ को मोहरियाटोल,भिमसेनटोल हुँदै बगेर आउने ढलको कारण सिदार्थचोक तिर ज्यानै लिएको घटनासमेत छ । मानिसहरु समेत बगाउने अवस्था थियो । पानी र ढलकै कारण स्थानीयले दुःख कष्ट पाएका थिए । त्यतिमात्र होइन पैदलयात्रीदेखि सवारी साधनलाई समेत असर गरेको थियो । त्यो समस्या मुलतः अहिले समाधान भइसकेको छ । पानी व्यवस्थित गरेर फिर्के खोलामा लगेका छौं । चार दशक अघिदेखि इच्छा जाहेर गरेको तर पुर्णता नपाएको पालिखेचोक, साँघुको मुख जुन छ ,त्यसलाई हामी आइसकेपछि बाटो फराकिलो पारेका छौँ । १३ महिना लगाएर हामीले त्यहाँका स्थानीयलाई महानगरको पहलमा खुसीकासाथ बिस्तार गर्न सफल भयौँ । अब माथिको ३ नम्बरको चोक छ ,त्यसलाई पनि पोखरा झल्किने किसिमको विकास गर्न खोजिएको छ ।
पहिले कर्मचारीले गर्न नसकेको काम हामीले गरेका छौ भन्नुभयो , पहिलेका कर्मचारी र जनप्रतिनिधि आएपछि विकासमा फरक के छ ?
हिजो हामी निर्वाचित आउनुभन्दा अघिसम्म कर्मचारीले सामान्य नाला,बाटोघाटो टाल्ने र महानगरबाट पनि सामान्य सुविधामात्र प्रदान गरेको अवस्था थियो । पछिल्लो समय जनप्रतिनिधि आइसकेपछि निर्वाचितले जे गर्नुपर्ने काम थियो, त्यो गरिएको छ । फरक ढंगले ढल निकासदेखि अपांगमैत्री फुटपाथसम्मको विकास गरिएको छ । र वडा ४ को भवन आज अपांगमैत्री, बालमैत्री समेत बनाएका छौ । आज वडाको कारोबार निकै सहज भएको छ । एकद्वार प्रणालीबाट कार्यक्रम र योजनाहरु संचालन गरेका छौँ । हिजोको वडाको सेवासुविधा र आजको सेवासुविधामा भिन्नता आएको छ ।
व्यक्तिगत जग्गामा समन्वय गरि बाटो फराकिलो पारिरहँदा महेन्द्रपुलमा रहेको सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी भवन समेत हटाएर पार्किङसहितको पार्क बनाउन दबाब समेत दिइएको छ यसलाइ तपाईंहरुले कसरी लिनुभएको छ ?
यसमा चाहिँ हामीलाई साघुँकोमुख , पालिखेचोक भत्काइरहँदा व्यक्तिगत जग्गाका धनीहरुले विकासको कार्यमा विरोध गरेका थिएनन् । महानगरको स्वामित्वमा रहेको आर्ट ग्यालरी र ९ नम्बरमा पर्ने पुस्तकालय भएको भवनलाई समेत हटाइ पार्किङ व्यवस्थापन गर्न स्थानीयहरुले समेत सुझाएका छन । सोही अनुरुप हामीले व्यक्तिगत जग्गा त भत्काउन सफल भयौँ भने हाम्रै कार्यकालमा ग्यालरी र पुस्तकालयलाई व्यवस्थापन गरेर तत्कालको लागि पार्किङको रुपमा हेर्छौं । पछि केही न केही महानगरपालिका झल्किने गरेर पर्यटकीय पार्क बनाउन प्राविधिक हिसाबले अघि बढ्छौ । दुई वडावासीको सोचाईलाई धन्यवाद दिदैँ व्यवस्थापन पक्षमा लाग्नेछौं ।
तपाईं महानगर पुर्वाधार विकास समिति सदस्य पनि हुनुहुन्छ, निर्वाचित भएर आइसकेपछि महानगर प्रमुखले २४ घण्टा भित्रनै महानगरका बाटो मर्मत गर्ने प्रतिबद्धता गरे पनि त्यस्तो त देखिदैन नि ?
हो। हामीले निर्वाचित भएर आइसकेपछी २४ घण्टामा मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेपनी पूरा गर्न सकेनौ यो हामीले स्वीकार गर्नु नै पर्छ । तर के छ भन्दा नि महानगरभित्रका सबै बाटो महानगरको छैन । सडक विभागको पनि छ । बिभागले महानगर र महानगरले बिभागको बाटो निर्माण गर्दैन त्यसैले समस्या आएको हो । सडक विभागले समन्वय गर्न नसकेकै कारण बाटो मर्मत हुन सकेको छैन । केन्द्र सरकारले सडक खानेपानी लगायत पुर्वाधारहरुलाई महानगरकै स्वामित्वमा ल्याउनुपर्छ । त्यसो भयो भने हामीले गरेको प्रतिबद्धता पूरा हुन सक्छ ।
सडक विभाग र महानगर बिच सधँै अन्तरद्वन्द्व चलेको भन्ने गरिन्छ । समन्वयमा किन जान सक्दैनन समस्या के छ ?
अहिले नेपालमा ३ सराकार छन । संघ,प्रदेश र स्थानीय हामी स्थानीय सरकार अन्तरगत पर्दछौ । संघ सरकारले महानगरभित्रका सम्पूर्ण बाटो महानगरकै स्वामित्व हुनेगरि छुट्टयाइदिने हो भने कुनै समस्या आउदैन । सडक बिभागको कारणले पनि महानगरले भनेजस्तो र सोचेजस्तो बनाउन सकेको छैन । केन्द्र र प्रदेशसंग हामी पुग्दैनौ । हामी समन्वय गर्न तयार छौ ।
सडक विभाग र महानगरबीच सधै अन्तरद्वन्द्व चलेको भन्ने गरिन्छ समन्वयमा किन जान सक्दैनन समस्या के छ ?
अहिले नेपालमा ३ सराकार छन । संघ,प्रदेश र स्थानीय हामी स्थानीय सरकार अन्तरगत पर्दछौँ । संघ सरकारले महानगरभित्रका सम्पुर्ण बाटो महानगरकै स्वामित्व हुनेगरि छुट्टयाइदिने हो भने कुनै समस्या आउँदैन । सडक बिभागको कारणले पनि महानगरले भनेजस्तो र सोचेजस्तो बनाउन सकेको छैन । केन्द्र र प्रदेशसंग हामी पुग्दैनौ । हामी समन्वय गर्न तयार छौ ।
यो वडा व्यवसायी, व्यापारी र पोखराको केन्द्र बजारको हिसाबले पनि हेर्दा पार्किङको व्यवस्थापनमा कमि देखिन्छ नि ?
यसमा के छ भन्दा हामी आउनुभन्दा अघि केही घरहरु अन्डरग्राउन्ड बनेका छन । हिजो घरको नक्सा निकाल्ने बेलामा अन्डरग्राउन्डलाई पुर्ण पार्किङको रुपमा गराउनेछु भनेर गरेकै कागज हुन्छ । त्यो कागजलाई पनि ख्याल नगरी अहिले कोहि कसैको पहुँचको आधारमा, महानगरले निगरानी नगरेको कारणले त्यसलाई व्यापारीक प्रयोजनमा ल्याउने काम भएको छ । हामिले अहिले त्यसलाई नीति नियममा ल्याएर पार्किङकै रुपमा ल्याउनेछौ । यो वडामा सार्वजनिक जग्गा छैन त्यसले पनि पार्किङमा समस्या छ । हामीले केही व्यक्तिहरु संग सहकार्य गरि पार्किङ स्थल बनाउने प्रयास गरिरहेका छौं । हामीले महानगर, वडा र जग्गाधनी संग बसि केही निर्णय गरि पठाएका छौं यसको निचोड आउन बाँकी छ ।
कोरोना प्रकोपलाई वडाले कसरी व्यवस्थापन गरेको छ ?
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस जुन अचानक फैलियो नेपाल पनि अछुतो रहन सकेन । अहिले पनि लकडाउनको अवस्था छ । लकडाउनमात्र यसको समाधान होइन । हामीले फरक ढंगले अलिकती बैज्ञानिक तरिकाले यहाँ व्यापार,व्यवसाय देखि ज्यालामजदुरी गर्ने सम्मलाई मध्येनजर गर्दै महानगरले नयाँ वातावरण बनाउँदै छ । त्यो वातावरणमा हामी कम्तीमा पनि आम महानगरवासीलाई सम्बोधन हुनेगरी जानेछौं । वडामा क्वारेण्टिन नरहेको हुदाँ महानगरले बनाएको क्वारेण्टिनमा राख्ने गरेका छौं । यस्तै हामीले सचेतनामूलक सूचनासमेत दैनिक प्रवाह गरिरहेका छांै ।
अब कसरी जाने भनेर वडाले स्थानीय राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी लगायतसँग बसेर छलफल गरि अघिबढ्ने योजना बनाएका छौं । हामीले परामर्श गरि अब कसरीजाने भनेर महानगरमा प्रस्ताव गर्नेछौ । सम्भव भएसम्म एक घर एक व्यक्ति पिसीआर परिक्षण गर्ने छौ ।
तपाईं त कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्ष, महानगरसँग तपाईंहरुको गुनासो के हो ?
स्थानीय निकायमा जुन दलबाट जिते पनि पक्ष र प्रतिपक्ष हुुनुहुँदैन । संविधानले नै त्यहाँ प्रतिपक्षको कल्पना गरेको छैन । तर, तपाईलाई थाहा छ, अहिले महानगरमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को पूर्ण बहुमत छ । उहाँहरुले यदाकदा अर्काले भनेको कुरा नसुन्ने र आफूखुसी निर्णय गर्नाले समस्या भएको हो । अर्कोतर्फ, विकासको प्रतिफल सबै नगरबासीले पाउनुपर्छ । पोखराको मुख्य बजार क्षेत्र र भर्खरै महानगरमा गाभिएका वडाहरुको समस्या र आवश्यकता एउटै छैन । यसमा हाम्रो विमति छैन तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाहरुमा बजेट विनियोजन गरिँदा भएको भेदभाव चाहिँ हामीलाई स्वीकार्य छैन । हामीले यसो नगर्नुहोस् भनेर पटकपटक भनेका छौं । कतिपय अवस्थामा उहाँहरुले कुरा सुनेकोजस्तो गर्नुहुन्छ । अहिले पनि रातो किताब आइसकेको छैन, हामीले दिएका योजनाहरु कति परे/परेनन् भन्नेबारे हामीले हेर्न पाएका छैनौं । हामीलाई कहिँकतै विभेद गरियो भने हामी त्यसको विरोध गर्छौ नै । विकासमा मुद्दाहरुमा भने हामीले उहाँहरुलाई सघाएकै छौं । रचनात्मक सुझाव पनि दिएकै छौं । कोरोनाको सवाल होस् कि महानगरमा भएका अनियमितता प्रकरण नै किन नहोस् हामीले मेयरसाबको ध्यानाकर्षण गराएका छौं । पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका छौं । सातौ नगरसभा भइरहदा नगरसभामै दिनुपर्ने रातो किताब अहिलेसम्म नआउनु राम्रो हैन । हामीलाई खाकामात्र दिएको थियो । त्यसमा परिमार्जन गरि दिने भन्ने कुरा थियो अहिलेसम्म दिइएको छैन । मलाई लाग्छ पोखराका मुख्य वडाहरु बजार क्षेत्रहरु नेपाली कांग्रेसले जितेको छ । २२ वटा वडामा विकास गरेर ११ वटा वडामा विकास नहुनु भनेको नेतृत्व तहमा रहनुभएका मेयर उपमेयर सिंगो महानगरपालीकाको विकास देखिँदैन । पहिला पनि हामीले केही असहमति जनाएका हौँ । हामीले त्यतिबेला विकासका लागि भनेका होइनौ । एकीकृत सम्पत्ति कर वृद्धिविरुद्ध आवाज उठाएका हौ । हामीले स्थानीयको समस्याको समाधान गर्ने हो दुःख दिने होइन । अझै केही कुरा बैज्ञानिक छैन । महानगर कर्मचारीको नियन्त्रणमा छ । अहिले महानगरमा व्यथिति, आर्थिक अनियमितता भएको भन्ने खबर बाहिर आइसकेको छ । यदि व्यक्ति विषेश कोही छ भने महानगरपालिकाले कार्वाही गर्न नसक्नु भनेको नेतृत्व कमजोर हुनु हो ।





