बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

त्रास भुलाउने पानी उड्ने उडाइनो झरना

त्रास भुलाउने पानी उड्ने उडाइनो झरना


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार

म्याग्दी, १२ भदौ– कोभिड–१९ को संक्रमणले चिन्तित भएका मानिसका लागि म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमास्थित पानी उड्ने उडाइनो झरना मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थान बनेको छ । बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर–सुर्केमेला–बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटको उडाइनो झरनामा पुग्न सकिन्छ ।
करीब २ सय मिटर उचाईमा रहेको कोप्रे छहरा र २ सय ५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १ सय मिटर दक्षिणी भागमा अवस्थित छ । यहाँ दैनिक ५० देखि २ सय युवा–युवतीहरु रमाउन आउने गर्दछन् । यहाँ दुईवटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । कोरोनाको त्रासबाट आजित युवा–युवतीहरु झरनामा रमाइलो गर्दै दिन बिताउने गरेको बेनी नगरपालिका–३ का वडासदस्य गेमबहादुर घर्ती मगरले बताए ।
बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाई छ ।
म्याग्दीका बुद्धिजीवि चन्द्रप्रकाश वानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउँछन् । तीन झरनाले सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभै पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाई छ । प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासंग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->