तनहुँ, १७ भदौ– देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई २८ साउनमा कोरोना संक्रमणको पुष्टि भयो । होम आइसोलेसनमा बसेको उनले ३ भदौमा कोरोनालाई परास्त गरे । औषधिको ट्याब्लेट नै नखाई निको भएका पौडेलले संक्रमण पुष्टि भएपछि निको नहुदाँसम्म नियमित गुर्जोको रस, बेसारपानी, कागतीपानीको सेवन र शारीरिक व्यायाम गरे ।
पौडेललेजस्तै कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको दुलेगौँडाका शिक्षक एकनारायण भण्डारीले बताए । ‘कोरोना संक्रमण नदेखिदासम्म गुर्जेको वास्तै थिएन् । आजकल परिवारले नै नियमित सेवन गर्छाँै’, उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने सुनेपछि सेवन गर्न थालेको हौँ ।’ गाउँमा घरको वरपर र जंगलमा प्रसस्तै पाईने गुर्जो आजकाल सहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमति सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएपछि च्वाट्टै पार्ने ओखतीमुलो केही छैन् । यस्तोमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोना परास्त गर्नुको विकल्प छैन् । त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पति गुर्जोको सेवनकर्ता बढ्न थालेका छन् । तनहुँमा कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाई संक्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरेका छन् । औषधीय गुणले भरिपुर्ण वनस्पति गुर्जोको लहरा कोरोना संक्रमण देखिन थालेपछि चर्चामा आएको हो । यसको माग पनि ह्वात्तै बढेको छ ।
गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डाक्टर रामप्रमोद मण्डलले बताए । ‘कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन् । यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो । ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ । कोरोना भाइरस मात्रै होइन, अरु भाइरसबाट पनि बचाउँछ’, उनले भने ।
डा. मण्डलका अनुसार ताजा गुर्जोलाई एक आंैला बराबर काटेर त्यसको ५ मिलिटिर रस निकालेर विहान बेलुका पिउनु उत्तम हुन्छ । ‘रस बढी तीतो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने, भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुन्छ । गुर्जो सेवनले नकरात्मक असर नहुने उनको भनाई छ । गुर्जो कोरोना संक्रमितले मात्रै नभएर जुनै रोगका बिरामीले पनि सेवन गर्ने मण्डल बताउँछन् । गुर्जोको नियमित सेवनले बुढेसकालमा पनि वयस्कजस्तै देखाउने उनले जिकिर गरे ।





