सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खोइ ड्याम ? खोलाले बगायो ! खोइ चक्लाबन्दी ? बगरमा छ !

खोइ ड्याम ? खोलाले बगायो ! खोइ चक्लाबन्दी ? बगरमा छ !

गण्डकी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अघिल्लो वर्ष नै १८ लाख ७१ हजार रुपैयाँ अनुदान दिएको फाँट बगर बनेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

पोखरा, १७ भदौ– अँधेरी खोलामा कास्कीकोट, नौडाँडादेखिको पानी झर्छ । हिउँदमा सुक्ने खोलाहरु बर्खामा गड्गडाउँछन् । फेवातालको सिरानमा पर्नेे धारापानी क्षेत्रका बासिन्दाहरुको लागि बाढी नौलो हैन बरु नियति हो । हालको पोखरा महानगरपालिका वडा नम्बर २३ र २४ मा पर्ने सो क्षेत्र हुँदै बग्ने अँधेरी खोलाले कहिले वारिको खेत हान्ने, कहिले पारिको धान मडार्ने ! आजित् भएका स्थानीयहरुले २०५२ सालतिर नै जिल्ला भू–संरक्षण कार्यालय गुहारे । पसिना बगाउने खेत संरक्षणको लागि जनश्रमदान जुटाए, तारजाली र प्राविधिक सहयोग कार्यालयबाटै भयो । उनीहरुले आफ्नै बलबुताले ३६५ मिटर लामो ड्याम बनाए । बाढी कसरी आउँछ भन्ने गाउँलेलाई थाहा थियो । त्यसैले उनीहरुले क्रंक्रिटको ड्याम मात्र बनाएनन्, छेउमा बाँस पनि रोपे । जसोतसो चलेकै थियो । साविकको गाउँ विकास समिति एकाएक महानगरपालिका भयो । महानगरबासीहरु बनेपछि उनीहरुले सुख फिर्ने कल्पना गरे । आफ्नो खेतको संरक्षण त उनीहरुले गरेकै थिए, महानगरले फेवाताल पनि संरक्षण गर्ने योजनासँगै अधेँरी खोलामा चेक ड्याम बनाउने योजना ल्यायो । गाउँलेले हुन्छ भने । रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोलाहुँदै तालमा मिसिने गेग्रयान रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा २८ करोड १६ लाख रुपैयाँ लागतमा पहिलो चरणमा ती सिल्ट्रेसन ड्याम निर्माण सुरु गरिएको थियो । यीमध्ये अँधेरीकुनामा ९ करोड ६ लाख ४ हजारमा ठेकेदारले ड्याम बनाउने ठेक्का लिए । तर, जब ड्याम बनाउन थालियो । गाउँलेको मनमा चिसो पस्यो । बर्खामा बहुलाउने खोलामा बनाइएको ड्याम बलियो थिएन । निर्माण गुणस्तरहीन भएको आँखैले देखेपछि उनीहरु बिरोधमा उत्रिए ।
गएको जेठको अन्तिममै ड्याम भरिन लागेपछि पोखरा–२३ का वडासदस्य भरतराज भण्डारीले सिल्टे«सन ड्यामको काम गुणस्तरहीन भएको गुनासो गरे । उनले ड्याममा प्रयोग गरिएको बालुवा गुणस्तरहीन भएकाले करिब ७ सय घरधुरीलाई प्रत्यक्ष असर पार्ने र बर्खा नधान्ने अनुमान गरेका थिए । उनलाई स्थानीय गाउँलेको साथ थियो । यो विषय साउनको सुरुमा प्रदेशसभा सदस्य राजीव पहारीले प्रदेशसभामै उठाएका थिए । बनेका पाँचवटै सिल्टे«सनमा थुप्रिएको बालुवा र ढुङ्गा ननिकाले ड्याम भत्कने सम्भावना रहेको उनको भनाई थियो ।
भयो पनि त्यस्तै ! अधँेरी खोलामा बनेको बाँधले यो बर्खा धान्दै धानेन । सोमबार राति परेको पानीले असार मसान्तमा निर्माण सम्पन्न भएको ड्याम मात्रै बगाएन, नजिकै चक्लाबन्दी गरिएको करिब १३६ रोपनीमा लगाइएको धानखेत बगर बनायो, धान सोत्तर पा¥यो । बाढी पस्दा स्थानीय खिमलाल भण्डारीले पालेका १ सयभन्दा बढी कुखुरा पनि मारिदियो । हामी त खोलामा बस्ने मान्छे, अहिले बनाएको बाँधले बाढी धान्दैन भनेर सिल्टे«सन ड्याम बनाउँदै भनेको हो’, उनै खिमलालले भने,‘ भएको क्रंक्रिटको पर्खाल फोरियो, सिल्टे«सन ड्याम भरिँदा पनि त्यहाँबाट माटो निकालिएन ,अहिले बाढीले खेत र बस्ती नै पु¥यो ।’mलकडाउन खुलेपछि उनले २ लाखको दाना र १ हजार कुखुराको चल्ला हालेका थिए । बाढी खोरमा पसेपछि २७ दिनका भएका १ सयभन्दा बढी कुखुरा बाढीले बगायो । बाँकी रहेकाको अवस्था पनि राम्रो छैन ।
ड्याम भत्केपछि खेत बगर बनेको छ । किसानहरु टाउको समाएर बसेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अघिल्लो वर्ष नै १८ लाख ७१ हजार रुपैयाँ अनुदान दिएको फाँट बगर बनेको छ । १५६ रोपनी जग्गाको चक्लाबन्दीमध्ये यो वर्ष १३५ रोपनी जग्गामा खेती भएको थियो । ‘यहाँ यो वर्ष ३ सय मुरी धान उब्जाउने लक्ष्य थियो’, धारापानी चक्लाबन्दी कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद दाहालले भने,‘ कृषि ज्ञान केन्द्र स्याङ्जाले हाम्रो परियोजनालाई धान पकेट क्षेत्र घोषणा गर्दै यान्त्रिकीकरणमा १६ लाखजति सहयोग आएको थियो । अहिले बाढीले बगायो, गरेर खान्छु भन्दापनि धिक्कारै रहेछ ।’ उनले बाँध फ्ुट्नुको दोष कमजोर निर्माणलाई नै दिए ।
‘यहाँका मोहीले पहिलेको ड्याम नफालौं भनेको हो, इञ्जिनियरहरुलाई तपाईंको डिजाइन गलत छ, तपाईंलाई पढाईको ज्ञान भए पनि फिल्डको ज्ञान हामीसँग छ पनि भन्यौं’, उनले भने,‘ एउटाले बनाउने र अर्काले बिगार्ने भनेजस्तो भयो, पहिले बनाएको बाँध नगरपालिकाले भत्काइदिँदा यो गति भयो ।’ खहरेखोला नियन्त्रण तथा संरक्षण समितिका अध्यक्ष रामजीप्रसाद भण्डारीले खोलामा गुणस्तरहीन समानान्तर ड्याम बनाइएकैले यो विपत्ति आएको बताए ।स्थानीय नारायणप्रसाद भण्डारीले अनियमिततामा निर्माण कम्पनीदेखि इञ्जिनियर र चक्लाबन्दी कार्यक्रमका पदाधिकारीको पनि मिलेमतो भएको जिकिर गर्दै भने,‘‘सोझासाझा जनतालाई नि ठगे, राज्यलाई नि ठगे । ’ निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै ती संरचनाको जिम्मा लिनुपर्ने कानूनी प्रावधान रहेको छ । महानगरका मेयर मानबहादुर जिसीले त्यही प्रावधानमा टेकेर कानूनी उपचार खोजिने र गुणस्तरीय ड्याम बनाउने प्रतिवद्धता जनाए । असारको अन्त्यमा मात्रै ड्याम बनेको र त्यहाँको खनिजजन्य पदार्थको ठेक्का लगाउँदा ३५ दिने म्याद चाहिने भएकाले समयमा नै खनिजजन्य पदार्थको ठेक्का लगाउन नसकिएको पनि जिकिर गरे ।
अरु पनि खतरामा
पोखरा–२३ अँधेरीखोला र हर्पन खोलाको बाँध निर्माणको क्रममा पोखरा महानगरका इन्जिनियर खेम तिमिल्सिनाले मिसावट बालुवाको प्रयोग भएको भन्दै काम रोकेका पनि थिए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले निरीक्षण गर्दै प्राविधिक रुपमा गुणस्तरीय बाँध बाँध बनाउन सुझाएका थिए । तर, स्थानीयहरु त्यहाँको भूगोल पनि नबुझेर बाँध बनाइएको निक्र्योलमा थिए । बाँध समयमै बन्यो । प्रदेश सरकार र महानगरको सिल्टे«सन ड्याम बनेपछि त्यहाँको पोखरीमा जम्मा भएको ढुङ्गा गिट्टी, बालुवा बेचेर वार्षिक २३ करोड आम्दानी हुने प्रक्षेपण थियो । विज्ञ टोलीले हप्तामा १ लाख ५० हजार घनमिटर गेग्रयान जम्मा हुने र त्यहाँबाट बर्खामा हप्तैपिच्छे ढुंगा, गिट्टी, बालुवा निकाल्नुपर्ने सुझाव थियो । तर, ड्याम बनिसक्दा पनि त्यहाँबाट ती सामग्री निकालिएन । ड्याम भरियो ।
‘एक पटक महानगरले अलिकति बालुवा निकालेको हो’, खहरेखोला नियन्त्रण तथा संरक्षण समितिका अध्यक्षले भने,‘गेग्रयान निकालेको भए बाँध फुटेर खेततिर पस्ने थिएन ।’हर्पन, खहरे खोलाले प्रत्येक १ लाख ४२ हजार मेट्रिक टन बालुवा, गिटी, माटो बगाएर ल्याउने अनुमान छ । शान्ति सालघारी बनका अध्यक्ष स्थानीय कलाधर भण्डारीका अनुसार सो क्षेत्रमा ६९५ झरना रहेका छन् । उनकै पालामा गरिएको एक अध्ययन अनुसार एक मिनेटमै सयौं मेट्रिक टन बालुवा आउँछ । ‘ ड्याम बनाउँदा यहाँका बासिन्दाले आफ्नो जग्गा छोड्न मानेनन्, खोला साँघुरो भयो अनि यहाँको खोलाको भेउ पाएका मानिसलाई ड्यामको डिजाइन गर्न लगाउनु पथ्र्यो’, उनले भने,‘ पानीले पहरा त फुटाउँछ त्यसैले यो खोलालाई दिनको एक पटक यहाँबाट गेग्रयान निकाल्न्ुपर्छ ।’
फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४ पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पन खोला घाँटीछिनामा ५ वटा ड्याम बनेका छन् । यीमध्ये बेतयानी खोलाको स्याङ्जाको श्री गीता र जयनेपाल ईश्वर जेभी, लौरुक खोला, अँधेरी खोला र हर्पन खोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण ठेक्का पाएका थिए । बेतयानीमा ५ करोड ४६ लाख ५८ हजारमा दुई, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजारमा एक, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा बनेका परियोजना पनि अहिले धरापमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->