पोखरा, १८ भदौ – गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । भदौ १४ गते उनको स्वाब संकलन गरिएको र बुधबार साँझ नतिजा आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । सांसद रेग्मीले आफुले डेढ साता अगाडि नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रमुखसँग खाना खाएकोले त्यहाँका प्रहरीमा कोरोना पुष्टि भएपछि पिसिआर परीक्षण गराएको वताए ।
उनी अहिले पोखरामै होम आइसोलेसनमा छन् । सांसद रेग्मीले नेपाल प्रहरीको सशस्त्र प्रहरी गणभित्र कार्यालय प्रमुखसँग खाना खाएका थिए । उक्त गणबाट स्याङ्जामा खटिएका प्रहरीमा कोरोनाका पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुखसहित धेरै जनामा कोरोना पुष्टि भएर आएसोलेसनमा रहेपछि उक्त गणबाट प्रहरी स्याङ्जा गएका थिए ।
उनीहरु फर्केर आएपछि गणकै अरु प्रहरीमा पनि एकपछि अर्कोमा कोरोना पुष्टि भएको छ । त्यस कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएपछि सांसद रेग्मीले शंकाका आधारमा स्वाब परीक्षण गराएका थिए ।





