म्याग्दी २२ भदा– वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावि खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृति स्रोतको विनास हुनेक्रम बढ्दै गएको छ ।
प्रकृतिमाथि मानिसको चरम दोहन र वर्वरता बढ्दै जाँदा मानिस आँफै संकटको भूमरीमा फस्दै गएको भएपनि प्रकृति मास्न मानिसले अझै प्रविधिको समेत प्रयोग बढाउँदै गएको वातावरणवीद्हरुले बताएका छन् ।
हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक,चुनावी प्रतिवद्धता तथा स्थानीयको मागका नाममा धमाधम सडक विस्तार भै रहेको छ । यसरी सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ । केही जनप्रतिनिधि र गाउँका केही टाँठावाठा भनिएका व्यक्तिहरुको लहडमा खनिएका यस्ता सडक नै मानिसहरुको मृत्युका कारण बनेका छन् भने प्राकृतिक स्रोतहरुको विनासका माध्यम पनि बनेका छन् ।
पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिहरुको भनाइ रहेको छ ।
म्याग्दीको भूगोल,वन तथा वातावरण क्षेत्रका जानकार,वातावरणविद् चन्द्रमणी सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्डहरु पनि पालन नगरी हेभि इक्युभमेन्ट (२/३ सय सिसी क्षमताको डोजर) को प्रयोग सडक खनिदा वर्षेनी बाढी र पहिरोको प्रकोप बढ्दै गएको हो ।
वातावरणविद् सापकोटाले भने‘मानवीय क्रियाकलाप नै बाढी पहिरोको प्रमुख कारण हो,यो संगै यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु,भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।
सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामिण क्षेत्रका अधिकाँश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नु पर्दछ । तर, सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभि इक्युभमेन्ट प्रयोग गर्दा त्यसले जमिन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।
त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने ,फिलिङ गर्ने,सडकको कटिङ गर्दा प्राविधिक सल्लाहा लिने गर्नु पर्दछ । तर,म्याग्दीका ग्रामिण सडकहरुमा न्यूनतम मापदण्ड पनि पुरा नगरिएको उनको भनाइरहेको छ ।
त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीनवटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकोले यहाँको माटो बलौटे हुँदा बाढी र पहिरोको उच्च जोखिममा रहेको वताए ।
उनले जथाभावि खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनाश भएता पनि म्याग्दीको हकमा भने बन क्षेत्र नघटेको र यसले वनपैदावर र जंगली जनावरलाई क्षति नपुगेको तर्क गरे ।
वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि,जबिुटी,बुट्यान र रुखहरु विना प्रयोजन नष्ट गरिएको उनकोे भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकहरुमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।
त्यसैगरि वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूबनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारणहरु क्षतिका कारकहरु भएका वताए ।
उनले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्यहरु, वनजंगलको विनास, जनचेतनाको कमी आदि मानवीय कारणहरु समेतले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक बर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अरबौंको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको छ भने ।
वातावरणवीद्हरुका अनुसार प्रविधिको प्रहारले प्रकृति छियाछिया भएको छ । जसले गर्दा ग्रामिण वस्तीहरु उच्च जोखिममा परेका छन् भने मानिसले जानीजानी आफ्ने विनाश आँफै निम्त्याइरहेको छ ।
उता राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्तर्गत बेनी—जोमसोम जोड्ने ७६ किमी सडकका कारण मुस्ताङ खण्डमा पर्ने थासाङ गाउपालिका ३ र ४ वडामा वनसम्पदा बिनास भएको पाइएको छ । बेनी—जोमसोम सडकको डिजाइन प्रविधिमैत्री हुन नसक्दा प्राकृतिक स्रोतसाधनको विनास भएको पाइएको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । त्यससमय आयोजनाका इन्जिनियर र प्राविधिकहरुको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा वर्षेनी बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनु पर्ने हुन्छ ।
बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढी, पहिरो र नदी कटानले वनजंगलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले वताए ।





