मुस्ताङी स्याउ ! बजारमा चर्चा छ । सानादेखि ठूला व्यापारीले यहीँको स्याउको नाम बेचेर भारत र चिनियाँ स्याउको व्यापार गर्छन् । तर, स्याउका पारखी नेपालीले भने मुस्ताङी स्याउको स्वाद भुलेका छैनन् । मुस्ताङमा स्याउ फल्न थालेको ५० वर्ष भयो । यहाँ पहिलोपटक दशवटा बिरुवा रोपेको ५४ वर्ष पुग्यो ।
परीक्षणका लागि रोपिएका बिरुवाले फल दिन थालेपछि सुरु भएको हो मुस्ताङमा स्याउको व्यवसायिक खेती । अन्न उब्जने जमिनमा पतझर बिरुवा नलगाउने भनेर उफ्रिएका मुस्ताङेले लटरम्म फलेका दश बिरुवा देखेर आफ्नो बारी सजाउने सपना देखेका थिए । तिनै किसानको सपना पूरा हुँदा मुस्ताङले परिचय फेरेको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संगम र आस्थाको धरोहर मुक्तिनाथले परिचित मुस्ताङलाई चिनाउने ब्रान्ड बन्यो ‘मुस्ताङी स्याउ’ ।
……….
यी थकालीको साहस
२०२३ सालमा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु¥याएको इतिहास छ । भारतमा कृषि विज्ञान पढ्न गएका बेला उत्तरका भू–भागहरूमा फलेको स्याउ देखेर मुस्ताङमा स्याउखेतीको परिकल्पना गरेका शेरचनलाई दरिलो साथ दिने काम त्यहाँका तत्कालीन मुखिया इन्द्रमान शेरचनले गरे ।
२०२३ सालमा उनै इन्द्रमानको जमिनमा मुस्ताङमा पहिलोपटक दशवटा स्याउका बिरुवा रोपिएको थियो । कृषि विज्ञान पढेर आएका बुद्धिरत्नले २०२३ सालमा मुस्ताङकै मार्फामा बागवानी केन्द्र स्थापना गरे । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले कस्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।
पहिले मुस्ताङको मुहार फेर्न स्याउ खेती गरौँ भन्दा उल्याउनेहरू अहिले स्याउबाट आम्दानी मात्रै गरिरहेका छैनन् स्याउ फल्ने गाउँका भनेर आफूलाई चिनाउँछन् । मुस्ताङको स्याउले बुद्धिरत्नको नाम नै ‘स्याउबाजे’ बनायो ।
हिउँले छोपिने उजाड मुस्ताङ रसिला स्याउको बगानले भरियो । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रचलित गाउँ हो । हिमाली जिल्ला म्याग्दीको सीमाभन्दा केहीपर कोबाङदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म स्याउ फल्छ । स्याउ जोन कार्यक्रमले परीक्षणका रूपमा लोमान्थाङमा पछिल्लोपटक स्याउका बिरुवा लगाएको छ । सबैभन्दा धेरै र राम्रो स्याउ फल्ने क्षेत्र मार्फा हो । मार्फाकै नाममा मुस्ताङको स्याउको बजारीकरण हुने गरेको छ ।
……….
मुस्ताङको हावापानी र स्याउ
अक्सर मुस्ताङमा पानी पर्दैन । चर्को घाम लाग्ने, तर पानी नपर्ने भएकाले यहाँको स्याउमा स्वाद र रंग भरिन्छ । यहाँको स्याउको विशेषता भनेकै स्वाद र रंग हो । रसिलो, गुलियो र हेर्दा रातो देखिने स्याउले नेपाली मात्रै होइन, विदेशीलाई आकर्षित गर्छ । चिसो हावापानी, हिउँदमा हिउँ र वर्षात्को समयमा चर्को घामले स्याउको फल विकासमा सघाउने स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल बताउँछन् ।
मुस्ताङको १२ सय हेक्टर जमिनमा अहिले स्याउका बिरुवा छन् । ५ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले फसल लिने गरेका छन् । बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको छ ।
स्याउका बिरुवा उत्पादनसमेत मुस्ताङमा हुन्छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रंगको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ । हरेक वर्ष यहाँका किसानले ५ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुन्छ ।
नेपालमा वर्षमा झन्डै ६ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको तथ्यांक पाइन्छ । विशेष गरी भारत र चीनबाट आउने स्याउको प्रतिस्थापनमा मुस्ताङको स्याउ गतिलो उपाय हो ।
यातायातको सहज पहुँच, बजारसम्म किसानको सीधा पहुँच नहुनु र मुस्ताङबाट ढुवानीभन्दा विदेशबाट स्याउ भित्र्याउँदा सस्तो पर्ने भएकाले विदेशी स्याउले प्रश्रय पाउने गरेको यहाँका किसान चन्द्र थकालीको गुनासो छ ।
आलु, फापर, गाजर, जौलगायका कृषिबाली उब्जाउने यहाँका किसानले स्याउको बगानलाई पनि उत्तिकै महत्व दिने गरेका छन् । अहिले नयाँ लगाइएको ७ सय हेक्टर जमिनमा फसल आउन सुरु गर्दा नेपालको बजारमा मुस्ताङे स्याउको उपस्थिति थप बलियो हुन्छ ।
किसानले बगैँचा बढाउँदै लगेकाले पनि मुस्ताङको स्याउले विदेशी स्याउको ठाउँमा केही हद कायम गर्नेछ । बजारको समस्या नभए पनि किसानदेखि उपभोक्तासम्मको दूरीका दरारले यहाँका किसानले उत्पादन गर्ने स्याउलाई बजारीकरणमा समस्या छ ।
मुस्ताङको स्याउ काठमाडांै, पोखरा, वीरगन्ज, भैरहवाजस्ता ठूला सहर र स्थानीय बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । सिजनमा यहाँको स्याउको मूल्य अन्यत्रको स्याउभन्दा २० देखि ५० रुपैयाँ बढीमा बिक्री हुने गर्दछ ।
तस्विरः सुन्दरकुमार थकाली/मुस्ताङ





