
बागलुङ, २३ भदौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी भित्रको विवाद हल भएको बताएका छन् । जनयुद्धका शहीद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अब महाधिवेशनमा केन्द्रित हुने बताए ।
‘पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दै छ, एकता सुदृढ बन्छ’ नेता पौडेलले भने, ‘शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।’ गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उनको भनाई छ ।
‘कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो’, उनले भने, ‘जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।’ बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गरे ।
स्मृति दिवसमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे । ‘जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धी ल्याउनमा त्यसको ठूलो भूमिका छ’, उनले भने, ‘राजनीतिक ढंगले परिवर्तन त ग¥र्यौँ तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।’
नेकपा बागलुङद्वारा आयोजित कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, पार्टी जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य बलावती शर्मा, प्रतिनिधिसभा सदस्य सुर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतको सहभागी थियो ।
कार्यक्रम नेकपा बागलुङका अध्यक्ष सापकोटा र सचिव ज्ञामनाथ गैरे ‘अनिल’को सञ्चालनमा सम्पन्न भएको थियो ।
पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहेका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ सालमा प्रहरीले हत्या गरेको थियो ।





