बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुख्यमन्त्रीज्यू, यी बालबालिकाको आँखामा हेर्नुहोस् !

मुख्यमन्त्रीज्यू, यी बालबालिकाको आँखामा हेर्नुहोस् !

२४ भदौ २०७७, ढोरपाटन दैनिक


  • सम्पादकीय
  • भाद्र २४ २०७७, बुधबार

अनुहार फुङ्ग उडेका यी बालबालिकाहरु ढोरपाटन बोवाङ पहिरोले आफन्त खोसेकाहरु हुन् । थोरै बुझ्नेको आँखामा पीडा र अवोधहरुको आँखाका त्रास छ । (तस्वीरमा बायाँबाट क्रमशः मीना, सुस्मिता, महेश, मनिष र सुदीप बिक) उनीहरु घरबार मात्रै हैन आफन्तविहीन भएका छन् । दैवले उनीहरुको टेक्ने लठ्ठी र समाउने हाँगो दुबै खोसेको छ । केही बुझ्ने भए पनि कक्षा ७ मा पढ्ने सुस्मिताको एकैचोटी यति ठूलो पीडा उठाउने उनको उमेर हैन । आमा गुमाएका र बुबा विदेश भएका मनिष र सुदीप त बालकै भइहाले । ७ र ६ वर्षकाले बुझ्नै के हो र ? अझ सबैभन्दा पीडा त महेशलाई पो परेको छ । सुस्मिता र मीनाको जस्तै बाढीपहिरोले उनका सबै आफन्त छिनेर लगेको छ । बाढीमा ९ महिनाकी शिशु र ३ वर्षका बालक पनि बाँचेका छन् । यी दुई बच्चा पनि अहिले आमाविहीन भएका छन् । धन्न यी दुईको मावली छन् । बाढीको वियोगान्तक दृष्टान्त आउनै बाँकी छ । तर, तत्कालको लागि यी बालबालिकाले आफन्त र अभिभावक र आश्रय खोजेका छन् । पैसाको मुठो हातमा दिएर फोटो खिचाउने रहर पनि छैन, उनीहरुसँग। बुझ्ने उमेर भए त यी बालबालिकाहरुले बाँचेकोमा गर्व गर्दै आमाबुबाको सपना पूरा गर्ने हिम्मत जुटाउँथे होलान् । उनीहरुको त्यो उमेर नै कहाँ भएको छ र ? आमाबुबालाई घुर्की देखाउँदै, फरियाको फुर्को समात्दै हिँड्ने उमेरमा आफन्त गुमाउँदाको पीडा शब्दमा सायदै अभिव्यक्त हुन्छन् ।

शोकको बीचमा संघीय सरकारका गृहमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्रीसम्म सो ठाउँमा पुगेका छन् । उनीहरुले घर बनाउने आश्वासन बाँडेका छन् र तत्कालको लागि राहतको प्याकेज पनि दिएका छन् । त्यो राम्रो हो । अव, बुझ्नुपर्ने के हो भने, यस्तो विपत्तिका असरहरु चौतर्फी हुन्छन् । पैसा, राहत वा पुनस्र्थापनाको भौतिक प्याकेजले मात्रै ती असरहरु निष्प्रभावी हुँदैनन् । बालबालिकाहरुकै अवस्था हेर्ने हो भने त झन कहालीलाग्दो छ । बस्ती शोकमा छ । शोक बिस्तारै कम हुँदै जाला र जानु पनि पर्छ तर आफन्त नै गुमाएका बालबालिकाहरुको भविष्यको जिम्मा कसले लिने ? ‘भोक लाग्यो’ भनेर यी बालबालिकाले कोसँग माग्ने ? अनि आङमा भएको एकसरो लुगा फेर्न को गुहार्ने ? कसले उनीहरुको सरसफाई गरिदेला ? बालमस्तिष्कमा लागेको आलो घाउ सुकाउँदै उनीहरुलाई सामान्य जीवनमा कसरी ल्याउनेृ होला ? यी र यावत ‘शूलप्रश्न’हरुको तत्काल उत्तर खोजिनुपर्छ । कम्तिमा यी बालबालिकाको बस्न र खान पाउने आधार र अभिभावकविहीनता अन्त्यको लागि पहल गरिनुपर्छ । यसअघि बालबालिकाको अभिभावकत्व ग्रहणको लहर चलेको थियो । प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले यो अभियानमा सहभागिता जनाएका थिए । संकटको यो क्षणमा मुख्यमन्त्रीलाई अभिभावकत्व लिने र दिने अवसर प्राप्त भएको छ । यी बालबालिकाका आमाबुबा ज्यूँदै भएको भए, मुख्यमन्त्रीलाई यो अवसर आउँदैनथ्यो । उनीहरु आफै पाखुरा बजार्थे र इमानकासाथ बालबालिका हुर्काउँथे । मुख्यमन्त्रीज्यू, अभिभावक गुमाएका बालबालिकाको तत्काल संरक्षक बन्नुहोस् । उनीहरुको आँखाले मागेको तत्काललाई यही हो । यो तपाईंको दायित्व पनि हो । नत्र, संकटको बेला हेलिकोप्टर चढेर, प्राडो दौडाएर राज्यकोषको पैसा उडाएकोे आरोपबाट तपाईं पनि मुक्त हुनुहने छैन । यसमा यहाँको ध्यान पुग्ने नै छ । पुग्नु पर्दछ । आशा र विश्वासमा बाँच्ने यी बालबालिकाहरु भविष्यका कर्णदार पनि हुन नि ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->