बागलुङ, २८ भदौ– सदरमुकामको बाघ चोकमा पुगेर दिप प्रज्वलन गर्ने परम्परा फेरिएर बुद्ध हिलमा पुग्ने क्रम सुरु भएको छ । शनिबार साँझ एकाएक जुटेका युवाहरुले हालै मात्र प्रचारमा ल्याउन थालिएको बुद्ध हिलमा पुगेर बाढीपहिरो र कोरोनाका मृतकको स्मरणमा दिप प्रज्वलन गरियो ।
बागलुङ नगरपालिका वडा नं. ६ र ७ को सिमानामा पर्ने बुद्ध हिलमा पुगेर गरिएको दिप प्रज्वलन पहिलोपटक थियो । गत असारमा विश्व यात्री रामजी परियारले विभिन्न देशको राष्ट्रिय गान गाउन एकान्त ठाउँ खोज्दै डुल्दा यो स्थानमा बुद्धले ध्यान गरेको आकृति देखेपछि प्रचारमा ल्याउन थालेका थिए । युवाहरुले बुद्ध हिलको नाम दिंदै प्रचार गर्ने र घुमफिरका लागि पुग्ने गरेपछि शान्तिका दूत बुद्ध भन्दै चिरशान्तिको कामना गर्न स्वतस्फूर्त समूह पुगेको हो ।
शनिबार बेलुकी आयोजित संक्षिप्त कार्यक्रममा वडा नं. ७ का अध्यक्ष खगराज पाण्डे र वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अब नगरपालिका तहमा काम थाल्ने आश्वासन पनि दिए ।
कार्यक्रममा नेकपा स्थानीय नेता कृष्णप्रसाद शर्माले पञ्चकोट आएका पाहुनालाई बुद्ध हिलमा बिश्राम गरेर फर्कने वातावरणसमेत तयार पार्नुपर्ने धारणा राखे । नेपाली कांग्रेसका स्थानीय नेता शशिधर उपाध्यायले सहज पदमार्ग बनाएर बुद्ध हिलको विकास गर्न सुझाव दिए । उनीहरुले आफ्नो क्षेत्रमा भेटिएको गन्तव्यलाई सबैको पहलमा संरक्षण, प्रचार र पर्यटन प्रवद्र्धनमा साथ दिन सबैको ध्यानाकर्षणसमेत गराएका थिए ।
कार्यक्रममा बुद्ध हिलको परिकल्पना गरेका रामजी नेपालीले ध्यानमा बसेर शान्ति खोज्नेका लागि यो गन्तव्य बन्छ भन्दै संरक्षण र प्रवद्र्धनमा स्थानीयकै लगानी हुनुपर्ने बताए । उनले स्थानीयले गरेको लगानीबाटै अपनत्व पनि महसुस हुने सल्लाह दिए । कार्यक्रममा बुद्ध हिल प्रवद्र्धक समितिका पदाधिकारीले पनि पर्यटकीय स्थलको प्रचार प्रसारमा लाग्ने बताए ।





