पोखरा, २९ भदौ– नेपालको जुन ठाउँमा बिते पनि मृत्यु नेपालीकै हो । मरेपछि माटोमै मिल्ने हो । तर, कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको भने हरेक प्रदेशले हिसाब राख्ने गरेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुका लागि घोषणा गरिएको राहत र प्रादेशिक रुपले आवश्यक पर्ने तथ्याङ्कका कारण यतिबेला स्वास्थ्य संस्थाहरु मृतकको थातथलो र ठेगाना खोज्दै हिँडेका हुन् । थातथलो र ठेगाना खोज्नु ठीकै भए पनि सम्बन्धित प्रदेशमा जानकारी ढिला आउँदा भने प्रदेशको तथ्याङ्कमै घटबढ हुने गरेको छ ।
आधिकारिक जानकारी आउन ढिलाई भएका कारण गण्डकीले मृत्यु भएको दुई दिनपश्चात आइतबार मात्रै मृतकको तथ्यांक थप ग¥यो । गण्डकी प्रदेश बाहिरका अस्पतालमा उपचारको क्रममा तनहुँ आबुखैरैनी नगरपालिका ४ की ७६ वर्षीया महिला, गोरखाका भीमसेनथापा ३ का ४५ वर्षीय पुरुष र कास्की मादी ४ का काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनीहरुको उपचार गरिरहेका अस्पतालले जानकारी पठाउन ढिलो गरेका कारण गत भदौ २६ मा मृत्युहुनेको भदौ २८ मा मात्रै निर्देशनालयले विज्ञप्ती निकालेर जानकारी दिएको छ । मुटुसम्बन्धि समस्या भएकी तनहुँकी महिलाको मनमोहन कार्डियोलोजी भास्कुलर उपचार केन्द्र काठमाण्डौमा आईतवार नै निधन भएको हो । गोरखाका पुरुषको शिक्षण अस्पतालमा २६ गते राति मृत्यु भएको हो । उनको मृत्युको जानकारी गण्डकी प्रदेशले आइतबार मात्रै गराएको छ । त्यस्तै सशस्त्र प्रहरीबल अस्पताल बल्खुमा भदौ २६ गते बिहान ११ बजे नै मृत्यु भएका कास्कीको मादी गाउँपालिकाका पुरुषको जानकारीसमेत आइतबार मात्रै पठाइएको निर्देशनालयले विज्ञप्तीमा उल्लेख गरेको छ । समयमा मृतकको बिषयमा जानकारी सार्वजनिक नहुँदा समुदायमा सन्त्रास फैलिने गरेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।





