बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विज्ञान दिवस र नेपालमा नवप्रवर्तन

विज्ञान दिवस र नेपालमा नवप्रवर्तन


  • जीवराज पोखरेल
  • असोज १ २०७७, बिहिबार

विज्ञान, प्रविधि तथा नवप्रवर्तनले देशको मुहार फेर्न सक्छ। यस तथ्यलाई उत्तरी छिमेकी चीनले यसको अवलम्बनद्वारा छोेटो समयमा अकल्पनीय विकास गरेर सावित गरिदिएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा कुन देश कहाँ छ भन्ने मापन त्यसको भूमण्डलीय नवप्रवर्तनात्मक सूचकांकले बहुधा मापन गरिन्छ। हालै २०२० को नवप्रवर्तनात्मक सूचकांकको प्रतिवेदन सार्वजनिक भएको छ। विश्वका १३३ राष्ट्रको गरिएको अध्ययनमा स्विट्जरल्यान्ड शीर्षस्थ स्थान एक नम्बरमा छ भने चीन १४ नम्बरमा छ। त्यसैगरी भारतले ४८औं स्थान हासिल गरेको छ। साथसाथै नेपालले ९५औं स्थान प्राप्त गरेको छ। सार्कका अन्य राष्ट्रहरू श्रीलंका १०१, पाकिस्तान १०७ तथा बंगलादेश ११६औं स्थानमा छन्। नेपाल पोहोर १०९औं स्थानमा थियो।
विज्ञान भनेको प्राकृतिक घटना अवलोकन गरेर सिद्धान्त निर्माण गर्नु हो। प्रविधिले वैज्ञानिक सिद्धान्तलाई प्रयोग गरेर मानव जीवनलाई सहज बनाउँछ। नवप्रवर्तन भनेको प्रविधिमा नवीन वस्तुको समायोजन गराएर यसलाई अझ प्रभावकारी बनाउनु हो। सबै खोलातल्तिर बगेको देखेर यसको पानी मास्तिरबाट तल्तिर बहन्छ भन्नु विज्ञान हो। पानी तल्तिर बहने रहेछ भनेर मानव कल्याणका लागि कुलो बनाएर मुहानतल्तिरको जग्गामा सि“चाइ गर्नु प्रविधि हो। साधारण कुलोबाट पानी चुहियो भनेर कुलोको साटो नालाको प्रयोग गर्नु नवप्रवर्तन हो।हा
म्रो पूर्वीपरम्परामा ज्ञान तथा विज्ञानबारेमा अविस्मरणीय समयदेखि विचार–विमर्श हुँदै आएको छ। गोपाल तथा महिशपालपछि नेपालमा किराँतले राज्य गरेको इतिहासमा उल्लेख भएको पाइन्छ। किराँतकालका भौतिक अवशेष काठमाडौंमा त्यति उल्लेखनीय रूपमा नपाइए पनि मधेसको लुम्बिनीमा देख्न सकिन्छ। यहाँ इँटाले बनेका विभिन्न संरचना यद्यपि विद्यमान छन्। यसका अतिरिक्त खानेपानीका लागि इनार निर्माण गरेको पनि देख्न सकिन्छ। गहिरो स्थानमा भूमिगत पानी जम्मा हुनेजस्तो प्राकृतिक घटनालाई पर्यवेक्षण गरी इँटाको गारो लगाई पानी जम्मा गरेर त्यसलाई वर्षभरि प्रयोग गर्न सक्ने स्थिति सिर्र्जना गरेकोमा त्यो बेलाका मानिसले विज्ञान तथा प्रविधिको उपयोग गरेको थाहा हुन्छ।
‘अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा लगानी गरे नेपालले अर्को वर्ष झन् तीव्रताका साथ उन्नति गर्ने थियो। किनकि नास्टले उन्नयनका लागि महत्त्वपूर्ण योगदान छ।’
किरात वंशपछि लिच्छवि वंशले नेपालमा राज्य गरेका थिए। स्तूप, चैत्य, ढुंगेधाराजस्ता लिच्छविकालका विभिन्न भौतिक संरचना अहिले पनि नभएका होइनन्। तर सबैभन्दा अभिरुचिपूर्ण संरचनामा ढुंगेधारालाई लिन सकिन्छ। विशेषगरेर पाटन दरबार प्रांगणमा रहेको मणिहिटी अति उल्लेखनीय छ। सन् ५७० मा निर्मित यो धारा अहिले १४५० वर्षपछि पनि यथावत् रूपमा सञ्चालनमा छ। यो धारो राजा मानदेव (शासनकाल ४६४–५०५) का नाति भारविले निर्माण गरेका हुन्। गुरुत्वाकर्षण शक्तिले पानी तलतिर बग्ने तथ्यको पर्यवेक्षण गरी धारो बनाउनुमा विज्ञान तथा प्रविधि प्रयोग भएको देख्न सकिन्छ।
लिच्छविकालपछिको ठकुरीकाललाई नेपाली इतिहासको अन्धयुग पनि भनिएको छ। यस समयमा बनेका केही जलद्रोणीहरू उल्लेखनीय छन्। यी जलद्रोणी मानिसलाई तिर्खा लागेका बेलामा पानी पिउनका लागि सहरको केन्द्रमा स्थापना गरिन्थ्यो। पानीलाई उच्च स्थानमा भण्डारण गरेर पिउनका लागि प्रयोग गर्नुमा विज्ञान तथा प्रविधि प्रयोग गरिएको देख्न सकिन्छ। मल्लकाललाई पुनर्जागरण काल पनि भनिन्छ। विशेष गरेर यस समयमा कला तथा वास्तुकलाको धेरै उन्नयन भएको थियो। धातुकलाको पनि चरम रूपमा उन्नति भएको थियो। यो कुरो भक्तपुरको स्वर्ण द्वारबाट स्पष्ट हुन्छ। सन् १७०२ मा बनेको न्याट पोलबाट सत्तल शैलीको मन्दिर निर्माण कलाले शिखर छोएको पनि थाहा हुन्छ। त्यसैगरी सन् १६३७ मा बनेको पाटनको शिखर शैलीको कृष्ण मन्दिरले प्रस्तर कलाको पनि धेरै प्रगति भएको थियो भन्ने कुरा देखाउँछ। पत्थर अथवा इँटजस्तो एउटा निर्माण सामग्री एकाइलाई पृथ्वीमा राखेर त्यसको मास्तिर अर्काे एकाइ राख्दा भार सञ्चार गर्न सकिने घटनाको पर्यवेक्षण गरेर यस वैज्ञानिक सिद्धान्तलाई आत्मसात गरी विशाल संरचना बनाइएको देख्न सकिन्छ।
यसैगरी शाहकाल एकीकरणको समय भएकाले कुनै नयाँ काम गर्नुभन्दा पनि विद्यमान वस्तुको अनुसरण भएको नुवाकोट दरबार, वसन्तपुरको दरबार आदिमा देख्न सकिन्छ। राणाकाललाई विज्ञान तथा प्रविधिको हिसाबले अन्धकाल भन्न सकिन्छ।
विशेषगरी राणाकालमा गेहेन्द्र शमशेरले तीर्थप्रसाद तथा मुसे थापाको सहयोगले विज्ञान क्षेत्रमा धेरै काम गरेका थिए। उनलाई नेपालको पहिलो वैज्ञानिकको रूपमा मानिएको छ। उनले भापले चल्ने मोटर, नयाँ किसिमको मेसिन गन, तोप हवाईजहाजका सफल नमुना बनाएका थिए। तर उनलाई विषपान गराइयो भने मुसे थापाले देश त्याग गर्नुपरेको थियो। त्यसैगरी तीर्थप्रसादलाई सात वर्षको जेल सजाय दिइएको थियो। चन्द्रशमशेरको समयमा त्रिचन्द्र कलेजका स्थापनाले विज्ञानको संस्थागत प्राज्ञिक विकासमा योगदान दिएको थियो। परन्तु यसको जग राख्ने बेलामा चन्द्रशमशेरले आफ्नो खुट्टामा बञ्चरोले हानेको भन्दै अभिव्यक्ति दिनुले राणाकाल ज्ञान तथा विज्ञानका लागि अभिशाप भएको मान्न सकिन्छ। यसपछि शाहकाल तथा प्रजातन्त्रकालमा स्थापना भएका विभिन्न विश्वविद्यालयअन्तर्गत विज्ञान, प्रविधि एवम् इन्जिनियरिङ अध्यापन गर्ने संस्थाले यो क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्।
यस्तो हुँदाहुँदै पनि नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तनको स्थिति त्यति उत्साहजनक थिएन। परन्तु भूमण्डलीय नवप्रवर्तनात्मक सूचकांकमा पोहोर एक खुट्किलो मात्र माथि चढेको नेपाल यसपालि १४ स्थानले माथि गएको छ। आउँदा दिनमा अझ मास्तिर जाने र तल्तिर नझर्ने चुनौती अब नेपालसामु छ। किनभने कति देश तलतिर पनि झरेका हुन्छन्। उदाहरणका लागि म्यासोडोनिया पोहोर २३ स्थान तल झरेर आठौं स्थानमा पुगेको थियो। नवप्रवर्तन सूचकांक दुई नवप्रवर्तन उपसूचकांकको योगफल हो। ती हुन्– नवप्रवर्तन निवेश उपसूचकांक र नवप्रवर्तन उत्पादन सूचकांक। यिनमा नेपालले १०६ र ८९औं स्थान प्राप्त गरेको छ। अनिवेश सूचकांकअन्तर्गत संस्था, मानवीय पुँजी तथा अनुसन्धान, पूर्वाधार, बजार परिस्करण र व्यापार पर्छन्। यिनमा नेपाल क्रमशः ११४औं, ११४औं, ७६औं, ४०औं र ५८औं स्थानमा देखिएको छ। उत्पादन उपसूचकांकमा ज्ञान तथा प्रविधि उत्पादन एवम् सिर्जनात्मक उत्पादन पर्छन्। यिनमा नेपाल १०२औं र १०६औं स्थानमा परेको छ। नेपालले यसरी ९५औं स्थान प्राप्त गर्न बजार परिस्करणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसमा वैज्ञानिक क्रियाकलापमा त्राण पाउन सहजता, लगानीको संरक्षण तथा कर आदि कारक पर्छन्। यसरी एक वर्षमा १४ खुट्किला पार गर्नु भनेको साधारण होइन। यो सारा देशलाई गर्वको कुरो हो। नेपाल अहिले सार्क राष्ट्रहरूमा भारतपछि दोस्रो भएको छ भने न्यून आय अर्थतन्त्रका राष्ट्रमा तान्जानिया (८८) र रुवान्डा (९१) पछि तेस्रो स्थानमा छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपालमा अनुसन्धान गर्न स्थापित संस्था हो। अहिलेको नेपालको उन्नयनका लागि यसको महत्त्वपूर्ण योगदान छ। तर सरकारले पर्याप्त रूपमा लगानी नगरेर यसले अपेक्षाअनुरूप कार्य सम्पादन गर्न पाएको छैन। नेपालले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा कूल ग्राहस्थ उत्पादनको ०.३८ प्रतिशत मात्र खर्च गरेको छ। जबकि चीनले २.५ र भारतले ०.७ प्रतिशत खर्च गरेको छ। यसरी थोरै घाँस खाएर पनि प्रशस्त दूघ दिने गाईजस्तो भूमिका नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रले बहन गरेको छ। अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा लगानी गरे नेपालले अर्को वर्ष झन् तीव्रताका साथ उन्नति गर्ने थियो। फेरि यस क्षेत्रमा अन्य क्षेत्रको जस्तो धेरै लगानी गर्नु पनि पर्दैन। अहिलेको ०.३८ प्रतिशतलाई आउँदो वर्षमा ०.५ मा र त्यसैगरी आगामी तीन वर्षमा एक प्रतिशतमा पुर्‍याउन पाए नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा यसपालि जस्तै अनपेक्षित उन्नयन हुने थियो।
(पोखरेल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति हुन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->