बागलुङ, ३ असोज– ढोरपाटन नगरपालिका वडा नं. ९ मा गत भदौ १७ गतेको बाढीपहिरोमा स्थानीय भीमबहादुर सुनार विस्थापित छन् । उनको ८ जनाको परिवार अहिले विद्यालयमा आश्रय लिएर बसेको छ ।
घर बगेपनि परिवारका सदस्य बाँचेकोमा पहिलो दिन खुशी भएका सुनारको जीवन अहिले भने कष्टकर छ । उनले राहतस्वरुप चामल, दाल, नुन र तेल पाएका छन् । तर त्यतिले मात्र उनको चुलो बल्न सकेको छैन ।
घरै बगेकोले हरेक सामानको खाँचोले उनको जीवनलाई सताएको छ । यस्तो समस्या भोग्ने ढोरपाटनमा धेरै छन् । बाढी पहिरोले मृतक र बेपत्ताको परिवारभन्दा बढी विस्थापितलाई सताएको स्पष्टै देखिन्छ ।
मर्नेको परिवारले राज्यबाट पाउने केही राहत रकम, विभिन्न दाताले दया गरेर रकम दिन्छन् । तर घरसम्पत्ति सबै बगेका विस्थापितको लागि त्यस्तो सहयोग आउँदैन । नीतिगत रुपमा सहयोग नआएपछि तत्काल विस्थापित भएर बस्दा पीडितले सास्ती खेपेका छन् । उनीहरु भन्छन्, ‘मर्ने त मरेर गैहाल्यो, बाँच्नेलाई पो सास्ती छ ।’
‘चामल र दाल पाएपनि नुन, तेल, मसलाजस्ता वस्तु किन्न खल्तीमा एक रुपैयाँ छैन’ सुनारले भने, ‘६ छोराछोरीसहित ८ जनाको परिवारलाई चाहिने सानो सामान किन्न पनि पैसाकै आवस्यकता पर्ने रहेछ ।’ चामल र दाल भएर मात्र खान नपुग्ने भन्दै उनीहरुले धेरै कुराको आवस्यकता पर्ने गुनासो गरे ।
घर बगेपछि आगो फुकेर खाना पकाउनका लागि ओदानदेखि भाँडाकुँडा, नुन, तेल, मसला र लाइटरसमेत चाहिंदा नगदको आवस्यकता खड्केको थियो । राहतका लागि नगद दिनेदेखि जिन्सी दिनेले भने नगरपालिकाको एकद्वार प्रणालीको नाउँमा नगरपालिकामै बुझाएका छन् ।
बाढीपहिरोले भुजीखोला किनारमा १ सय २६ घर विस्थापित छन् । कतिपयले १ सय ४० घरको तथ्यांक पनि निकालेका छन् । ती घरका झण्डै ३ सय जना विस्थापित छन् । उनीहरु कोही बारीमा पाल टाँगेर बसेका छन् त धेरैजसो आफन्तको घरमा छन् । कतिपय विद्यालयको कोठामा पनि छन् ।
तत्कालको पिडा भएकोले कतिपय विस्थापितलाई आफन्तले बस्न दिएका छन् । ढोरपाटन नगरपालिका वडा नं. ९ का अधिकांस बस्ती आर्थिक विपन्न परिवार मात्रै हुन् । अधिकांस दलीत र केही जनजाती बस्ती रहेको ढोरपाटनमा पीडितलाई आश्रय दिने पनि उत्तिकै समस्या छन् ।
जाडोको समयमा मात्रै गाउँमा बस्ने र अरु समय ढोरपाटनमा पशुपालन र कृषि पेशाका लागि धाउने गरेकोले उनीहरुको जीवनस्तर पनि कमजोर छ । ‘समस्यामा परेकोले राखियो, उनीहरुको लागि छिटो बासस्थान बनाउनु पर्छ’ स्थानीय केशमान सुनारले भने, ‘मृतकको सनाखत र काजक्रिया गरेपछि उम्किन्छ, विस्थापितको पिडा वर्षभरी भैरहन्छ ।’
यहाँका अधिकांस पीडितहरुलाई बास बस्ने समस्या छ । खानका लागि दाताहरुले धमाधम साथ दिएका छन् । नगरपालिकाले पनि हरेक घरमा दुईदेखि ४ बोरा चामल पु¥याएको छ । कतिपयको परिवारको संख्या हेरेर ६ बोरासम्म वितरण भएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।
बारीमा पाल टाँगेर बसेकी ५४ वर्षकी बेलमती पुनले राहत सामग्री नपाएर पानीमा भिज्नु परेको गुनासो गरिन् । ‘घरका ७ जना परिवार छौै, दिनदिनै पानी पर्छ, पालभित्रै पसेर चिसो बनाएपछि रातभर सुत्न सकिंदैन’ उनले भनिन्, ‘घर नबनेसम्म यस्तै सास्ती खेप्नुपर्छ होला, कहिले आरामले बस्न पाइएला ?’
उनले भुजीखोलाको बाढीपहिरोले घर सम्पत्ति बगाएको गुनासो गरिन् । बेलमतीको घरमा २ सय कुखुरा पालिएको थियो । घरको लत्ताकपडा, खाद्यान्न, नगद सम्पत्ति र कुखुरासमेत बगाएकोले लाखौं क्षति भएको उनले गुनासो गरिन् । बाढी आउनुभन्दा अघिल्लो दिन एक ट्रयाक्टर दाना ल्याएको समेत बगाएकोले ऋण तिर्न पनि धौधौ हुने उनले बताइन् ।
भुजीखोला किनारका सबै घरपरिवारका कुनै न कुनै पशुवस्तु बगेका छन् । वर्षात्को समय भएकोले अधिकांसले घरमा नगदै राखेको समेत बताए । उनीहरुको घर घरमा रहेका हजारौं रकम खोलामा बगेको छ । विस्थापितले तत्काल किनेर खान सक्ने गरी हातमा पैसा पनि छैन । यहाँ कुल क्षतिको विवरण कति भयो भन्ने अहिलेसम्म तथ्यांक निकालिएको छैन । नगरप्रमुख देवकुमार नेपालीले हिउँद लागेपछि विस्थापितलाई छिटो घर बनाउन पहल गर्ने बताउँछन् । घरको छाना भने व्यक्तिगत खर्चमा छाइदिने भनेका छन् ।





