पोखरा, ५ असोज– गण्डकी अस्पतालले लक्षण नभएका बिरामीको कोरोना परीक्षण नगर्ने भएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै अस्पतालको ज्वरो क्लिनिकले कोभिडको लक्षण प्रमाणित गरेपछि मात्रै परीक्षण गर्ने जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयले समुदायमा कोरोना परीक्षण नगर्ने र लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने निर्देशन जारी गरेसँगै अस्पतालले यो निर्णय गरेको हो । यसअघि कोरोना शंका लागेमा अस्पतालमा गएर परीक्षण गराउन पाइन्थ्यो । अस्पतालले होम आइसोलेसन, क्वारेण्टिन वा संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण पनि रोकेको छ । यस्ता व्यक्तिहरुले आफू बसेको स्थानीय तहमै सम्पर्क गर्न पनि अस्पतालले सुझाएको छ । आफ्नो इच्छाले स्वाब परीक्षण गराउन चाहनेहरुले भने पैसा तिरेर अस्पतालमै परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ । स्वास्थ्य मन्त्रालयले हालै जारी गरेका परिपत्रमा समुदायमा कोरोना परीक्षण नगर्ने जानकारी गराएको थियो । परीक्षणमा ठूलो रकम खर्च भएपछि राज्य परीक्षणको दायित्वबाट पछि सरेको हो ।





