
काठमाण्डौ, ८ असोज– कोरोना भाइरसको हालसम्म कुनै खोप र औषधी पत्ता नलागे पनि संक्रमितको उपचारमा विकल्पका रुपमा प्रयोग हुने फ्याभिपिराभिर २०० को नेपालमै उत्पादन सुरु भएको छ ।
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका संक्रमित नेपालमा पनि बढ्दै गएका छन् । विश्वका ठूला देशहरू कोरोनाको भ्याक्सिन उत्पादन र परीक्षणमा क्रियाशील छन् । यद्यपि, कठिन परिवेशमा संक्रमितको उपचारका लागि रमडेसिभार, फ्याभिपिराभिरलगायत औषधीको प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ ।
कोरोनाको एन्टिभाइरलको रुपमा विश्वका धेरै मुलुकहरूले फ्याभिपिराभिर औषधीको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । हालसम्म यो औषधीको वैकल्पिक प्रयोगका लागि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले क्लिनिकल प्रयोगका लागि अनुमति दिएका छन् । स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुमति लिई नेपालमै यसको उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए ।





