स्याङ्जा, १२ असोज– वालिङ नगरपालिकाले आइतबारदेखि स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले डिजिटल सिस्टमको सुरुवात गरेको हो ।
वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्सको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।
अव देखि वडा कार्यालयहरुबाट हुने काम समेत डिजिटल सिस्टमबाट गरिने भएको छ । स्मार्ट पालिकाले निर्माण गरेको वालिङ नगरपालिका स्मार्ट मोबाईल एप तथा विद्युतीय सुशासन प्रणाली आज वालिङ नगरपालिकालाई हस्तान्तरण गरे सँगै वालिङ नगरपालिकामा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरिएको हो । डिजिटल सिष्टम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञान तथा प्रविधिको युगमा डिजिटल सिष्टमको शुरुवातबाट सेवा आरम्भ गर्नु उदाहरणीय कार्य भएको बताए ।कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवातीसँगै नगरका सबै गतिविधिहरु हेर्न सकिने भएकाले पनि पारदर्शीताको उच्चतम प्रयोग हुने बताए ।प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङलाई स्मार्ट नगरकोरुपमा विकास गर्नका लागि ल्याईएका सूचकहरुमध्येको स्मार्ट वालिङ डिजिटल सिस्टमलाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि जोड दिने बताए ।




