सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जापानको सुखभोग छोडेर बाख्रा खेद्छन् पुरुषोत्तम !

जापानको सुखभोग छोडेर बाख्रा खेद्छन् पुरुषोत्तम !

सुटबुटमा सजिएर जागिर खान जाने योग्यता भएपनि उनी लौरो समातेर बाख्राको पछि दौडिन्छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७७, मंगलबार

वारीबेनी, (पर्वत), १३ असोज– जापानको पढाई, विश्वविद्यालयमा पठनपाठनमा सहभागि भएर बँचेको समय, सरकारले तोकेको बेला मात्रै काम गर्न पाइन्थ्यो । थोरै समय काम गरेर कमाएको पैसाले धेरै अभावहरु टार्नुपर्ने ।
कहिलेकाहीँ घरमा माग्न पनि जापानमा छोरो छ भन्ने हल्ला गाउँभरी । तै पनि खर्च कटाएर बँचेको १०÷२० हजार पठाउँदा मात्रै पनि घरमा कत्रो खुसीयाली !
पर्वतको जलजला गाउँपालिका–६ का पुरुषोत्तम सुवेदीले पाँच वर्ष जापानमा बिताए । अध्ययन भिषामा जापान पुगेका उनले उतै समाजशास्त्रमा स्नाकोत्तर गरे । पाँच वर्षको योजना बनाएर जापान पुगेका सुवेदीले पढाई र जापान बसाईलाई सँगै टुंग्याए ।
जापान बसाई, पढाई अनि कमाए । परिवार र गाउँलेलाई लागेको थियो अब पुरुषोत्तम जापानमै जम्छन् । व्यापार, व्यवसाय वा राम्रो जागिर गर्लान् । निकै कमाउलान र बुढ्यौलीमा देश फिर्लान् ।
गाउँले र परिवारको कल्पनाविपरित पुरुषोत्तम नेपाल फर्किए । बाल्यकालमा आफ्ना बाबुले गरेको पशुपालन व्यवसायबाट उनी निकै प्रभावित थिए । कृषिका जागिरे बाबुले घरमा गरेको बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गरेको उनको आँखा वरिपरी घुमिरहन्थ्यो । जापानमा काम गर्दाको दुःख, त्यहाँबाट हुने आम्दानी, खर्च र नेपालमा पशुपालनबाटै बाबुले गरेको आम्दानी सम्झिरहेका थिए ।
पढाई सकिएपछि पुरुषोत्तम कुनै जागिर वा व्यवसायका लागि होईन आफ्नै पुख्र्यौली पेशाका लागि घर फर्किए । जापानमा बसेको, स्नाकोत्तर पढेको व्यक्तिले बाख्रा पाल्छन् भन्दा अहिले पनि हाम्रो समाजले जिब्रो काँड्छ । तर पुरुषोत्तमले भने पसिनाको मुल्य आफ्नै माटोमा खोज्न थालेका छन् । ‘युवालाई यहिँको माटोमा सुन फलेको देखाउनु छ’ उनी भन्छन् ‘अर्काको मुलुकमा जस्तो मेहनत गरे आम्दानी यहिँ छ ।’ आफ्ना बाबु कुल प्रसाद सुवेदीको पुर्खौली व्यवसायबाट प्रभावित भएर व्यवसायीक बाख्रापालन थालेको सुवेदी बताउँछन् ।
सुवेदीले गाउँमा स्थानीय जातका बाख्राको फार्म खोलेका छन् । सुटबुटमा सजिएर जागिर खान जाने योग्यता भएपनि उनी लौरो समातेर बाख्राको पछि दौडिन्छन् । ‘पशुपालन, कृषिका काम गर्ने भनेकै पढेकाले हो, तब पो उपलव्धी होला’ सुवेदी भन्छन् ‘आफ्नो घरमा बसेर बाख्राको व्यवसायबाट हुने आम्दानीले मलाई सन्तुष्टि दिएको छ ।’
गाउँघरमै मिहेनत गरि आटोपिठो खाई परिवारसँग रमाएर पनि कमाउन र बचाउन सकिन्छ भन्ने उदाहरण हुन उनी । उसो त उनका बाबु पेन्सेनर हुन् । जेठो दाजु जापानमै व्यवसाय गर्छन भने माईलो दाजु शिक्षक हुन् । श्रीमतीको पनि सरकारी जागिर छ । तर उनी सबै सुख सुविधाको भोग गर्नुभन्दा परिश्रममा विश्वास गर्छन् ।
सुवेदीले स्थानीय खरी र जमुनापारी जातका बाख्रा पालेका छन् । गत वर्षबाट सञ्चालनमा आएको फार्मले आम्दानी दिन थालेको सुवेदी बताउँछन् । ‘जापानमा बचाउने जति त मैले यहाँ पनि कमाउँछु’ उनले भने ‘व्यवसायीक हिसाबमा लागेको छु, चारपाँच लाख त वर्षमा कमाउँदा पुग्छ ।’ उनले बाख्रापालनका लागि आफ्नो पुर्खौली सम्पती र छिमेकीको जग्गा भाडामा लिएर सात रोपनीमा पोषिलो घाँस लगाएका छन् । पाँच लाख रुपैयाँ खर्चेर स्थानीय जातका २५ वटा माउ बाख्रा खरिद गरेका छन् ।
‘बाख्राको जुतो खेतीपातीका लागि अति नै उत्तम मल हुन्छ, त्यहि मलको प्रयोग गरेर खेतीपातीमा पनि परिवर्तन गर्नुछ’ उनले भने ‘तरकारी, फलफूल, खाद्यान्न र घाँस खेतीलाई समेत व्यवसायीक गर्ने योजना छ ।’ व्यवस्थित खोर, घाँसको व्यवस्थापन, बाख्राको मलको उपयोग र आम्दानीका लागि मेहनत उनको फार्मबाट सिक्नुपर्ने विषय हुन् । उनले अहिलेसम्म कसैको सहयोग वा अनुदान लिएका छैनन् । सुवेदीलाई प्राविधिक सल्लाह दिने घरमै बुबा अनि श्रीमती कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नेछन् अनि के चाहियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->