पोखरा, १९ असोज– पोखरा महानगरपालिको प्रज्ञा प्रतिष्ठानको लागि सदस्यहरु सिफारिस गरिएको छ । महानगरले गठन गरेको छनौट समितिले आइतबार ११ जनाको नाम मेयर मान बहादुर जिसीलाई बुझाएको हो । लामो छलफलपछि नामहरु प्रतिष्ठानका संरक्षक मानबहादुर जिसीलाई बुझाइएको छनौट समितिका विज्ञ सदस्य मनकुमार श्रेष्ठले जानकारी दिए ।
लोक गायक तथा तत्कालीन एमालेको सांस्कृतिक मोर्चा जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य पद्मराज ढकालले कुलपति बन्न सहमति जनाएसँगै सिफारिस पत्र मेयर जिसीको हातमा परेको हो । यस अघिपदमराजले सो पदमा बस्न अस्वीकार गरेका थिए । उनी गण्डकी प्रदेश सरकारले गठन गर्ने प्रज्ञा प्रतिष्ठान जान चाहन्थे । सुरुमा महानगरकै उपकुलपति बन्न सहमति जनाएका पदमराजले पछि सो पदमा बस्दिन भनेपछि प्राज्ञहरुको नाम टुंग्याइएपनि सिफारिस हुन सकेको थिएन ।
‘हामी के गर्ने भन्ने दोधारमा थियौं, अस्ती (शुक्रबार) उहाँ (पद्मराज) ले आफ्नो बायोडाटा ल्याएर बुझाउनुभयो’, छनौट समितिका एक सदस्यले भने, ‘बायोडाटा बुझाएपछि पक्कै पद (उपकुलपति ) स्वीकारेको बुझियो र सिफारिस गरियो ।’ स्रोतका अनुसार पदमराजले पद स्वीकार नगरे मेनकाजीलाई कुल पति बनाइने गरि सिफारिस हुनलागेको जानकारीसँगै आफूलाई प्रदेश सरकारले उपकुलपतिन दिने संकेत मिलेपछि पद्मराजले छनौट समितिलाई आफ्नो बायोडाटा बुझाएका हुन् ।
यद्यपि, कुलपति र उपकुलपति छान्ने अधिकार भने प्रज्ञा प्रतिष्ठानका संरक्षक तथा मेयर मानबहादुर जिसीसँग रहेको छ । उनले सिफारिसमा परेकामध्येबाट कुलपति, उपकुलपति र थप ६ जना सदस्य छान्ने छन् ।
सिफारिसमा परेकाहरुमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, कवि सरस्वती श्रेष्ठ ‘सरु’ र कलाकार मिलन सेरचन, लोक गायक धनबहादुर गायक, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, लोक गायक जीवन दाहाल, लेखक सुरज उपाध्याय, पोखरा नाटक घरका ‘परिवर्तन’नामले चर्चित मोति बहादुर भुजेल, संगीतकार प्रतिक थापा र लोकदोहारी गायक कृष्णप्रसाद भण्डारी रहेका छन् । यी नाममध्ये पद्मराज कुलपति र मेनकाजी उपकुलति हुने निश्चित छ । मेनकाजीलाई जनजातिको तर्फबाट उपकुलपति बनाउनै लागिसिफारिस गरिएको हो । प्रज्ञाप्रतिष्ठानको विधानले प्राज्ञ परिषदमा १ जना महिला र उत्पीडितको पद सुरक्षित गरेको छ । यस मानेमा महिलाबाट सरस्वती श्रेष्ठ ‘सरु’ र मिलन सेरचन तथा उत्पीडितबाट धनबहादुर गायक प्राज्ञहुने निश्चित छ ।





