नवलपुर, २४ असोज जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बागलुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम पठाएको हो । गत भाद्र १७ गते ढोरपाटन नगरपालिकाको वडा नं. ९ भुदीखोलामा गएको बाढी–पहिराका कारण वडा नं. ६, ७ र ८ मा समेत भएको मानवीय एवं भौतिक क्षतिमा पीडित बनेका प्रभावितका लागी पीडामा सहानुभूति प्रकट गर्दै सहयोग गरिएको समाजका अध्यक्ष लालप्रसाद कंडेलले बताए ।
अध्यक्ष कँडेलका अनुसार शनिवार ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली, ढोरपाटनका सामाजिक ब्यक्तित्वहरु ज्ञानप्रसाद कंडेल, चिन्तामणी शर्मा तथा ढोरपाटन चितवन मैत्री समाजकी प्रतिनिधि खेमकुमारी कंडेल लगायत समाजका ३५ भन्दा बढी सदस्यहरुको अनलाईनका माध्यमवाट भएको भर्चुअल उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । रकम ढोरपाटन नगरपालिकाको दैबी प्रकोप राहतकोषमा जम्मा गरिएको हो ।
समाजले आह्वान गरेको सहयोग संकलन अभियानमा अष्ट्रेलियामा रहेका राजमान थकालीले २५ हजार, अमेरिकाबाट पिताम्वर गैरे जैसीले १० हजार १ सय ५०, भरतपुर १० का धनिश्वर खरेलले १० हजार रुपैंया सहित अन्य सहयोगी दाताबाट जुटेको रकम सहयोग गरिएको अध्यक्ष कंडेलले जानकारी दिए ।





