पोखरा, १ कार्तिक– आफ्नै लगानीमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भएको छ । पर्यटन सँगसँगै गण्डकी प्रदेशलाई खेलको हब पनि बनाउने उद्देश्यअनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो । पोखरा २२ पशुपतिघाटमा करिबन १२३ रोपनी जग्गामा अन्तर्राष्ट्रियतरको क्रिकेट मैदान बन्नेछ । क्रिकेट मैदानको जग्गा प्राप्तिका लागि झण्डै २ वर्ष लागेको थियो । गत असारमा डिपिआर तयार पार्न काठमाडौंको बिआरएस सोलुसनलाई जिम्मा दिइएको थियो । अहिले डिपिआर पनि तयार भइसकेको छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले प्रदेश सरकारको प्राथमिकतामा परेको योजना अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार हुँदा प्रदेशबासीले गौरव गर्न लायकको हुने बताए ।‘योजना त अब प्रदेशको प्राथमिकता प्राप्त योजना हो । अन्तर्राष्ट्रियस्तरको खेलमैदान भनेपछि बजेट धेरै नै लाग्छ । पूर्वाधार बनाउनुप¥यो, सुरुमा अनि खेलमैदानका पूर्वाधार बन्नुप¥यो’,उनले भने । मैदानको लागि डिपिआरको काम सकिएको छ । तर, काम सुरु हुनुअघि जग्गा संरक्षण गर्नुपर्ने देखिएको उनले सुनाए । नदीबाट जग्गा संरक्षण हुनुपर्छ । नदीबाट जग्गा कटान हुन नदिने पहिला जग्गा संरक्षणको कामलाई अघिबढाइने उनले सुनाए ।
क्रिकेट मैदानको लागि प्रदेश सरकारले पहिलो चरणमा २ करोड रुपैया छुट्याएको छ । ‘अहिलेको हाम्रो बजेट भनेको २ करोड रुपैयाँको हो । २ करोडलाई पहिलो प्राथमिकतामा केलाई राख्ने र नपुग रकम प्रदेश सरकार स्रोत संकलनको लागि लागेको छ’, उनले भने । प्रवक्ता काफ्लेले क्रिकेट मैदानको लागि मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयले पटकपटक जग्गाको डिपिआर बन्नु अघि नै जग्गाको अवलोकन र मैदानको लागि छलफल विमर्श गरिरहेको बताए । ‘मैदानको विषयमा छलफल, विमर्श भइरहेकै हो । नगरपालिकासहित धेरैपटक छलफल विमर्श भइसकेको छ’, उनले भने ।
डिपिआर तयार पारि सकेपछि काम सुरुआत भई सकेको मान्नुपर्ने उनले सुनाए । पैसा धेरै नभएकाले यो वर्ष केही र पैसा आएपछि बाँकी काम हुने उनको भनाई छ । ३–४ वर्षमा काम सकिने उनले अनुमान लगाए । भौतिक पूर्वाधार सुविधा सम्पन्न, पूर्वाधार भन्दा पनि सुविधासम्पन्न खेल मैदान बन्नको लागि त १ अर्ब ६० करोड रुपैयाँ लाग्ने लागत लाग्ने भए पनि पहिलो चरणमा क्रिकेट मैदानको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘त्यो भनेको १० वर्ष पनि लाग्न सक्छ । किनभने सबै सुविधा सम्पन्न दशरथ रंगशाला अझैंसम्म पनि सुविधा सम्पन्न हुन सकेको छैन । पोखरा रंगशाला अझैंसम्म सुविधासम्पन्न हुन सकेको छैन’, प्रवक्ता काफ्लेले भने, ‘१५÷२० वर्षदेखि लगानी भइरहेको छ । अझैं पनि केही कम्पोनेन्ट बाँकी छन् । त्यसरी हेर्ने हो भने त समय लाग्ला । नत्र भने खेल खेल्न र खेल सञ्चालन गर्न मिल्ने बनाउन ३ देखि ४ वर्ष लाग्छ । त्यतिभित्रै सकिन्छ ।’
प्रवक्ता काफ्लेले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान भए पनि थप मैदानको पनि आवश्यक पर्ने हुँदा क्रिकेट मैदान तयार पार्न लागिएको सुनाए । पोखरा रंगशाला भित्रको मैदा व्यवस्थित पार्ने जिम्मेवारी प्रदेश सरकारको पनि रहेको र प्रदेश सरकारले आफ्नो जिम्मेवारी बहन गर्ने उनले सुनाए । ‘के हुन्छ भने राष्ट्रिय स्तर, अन्तर प्रदेशभित्रका प्रतियोगिता राख्दा । एउटा त प्रतियोगिताको लागि अभ्यास गर्दा दुईवटा खेल स्टेडियम नभईकन कुनै पनि खेल हुँदैन’, उनले भने, ‘भलिबल एक ठाउँमा खेलेर, कही सेमिफाइनल प्राक्टिस गराउने भने नमिल्दो रहेछ । त्यसकारण एकभन्दा बढी स्टेडियम कोर्ट रंगशाला नजिक नजिक चाहिन्छ । त्यो आवश्यकता नै हो । किनभने दुई ठाउँमा सेमिफाइनल चलायो । फाइनल खेल अर्को दिन गर्न पाइयो ।’
३, ४ वटा टिमबीच प्रतिष्पर्धा गराउँदा पनि अर्को टिमलाई प्रशिक्षण गराउन पाइने हुँदा वैकल्पिक मैदान आवश्यक रहेको उनको जिकिर छ । मैदान निर्माणको लागि टेन्डर आह्वान भइसकेको छैन । यता पोखरा रंगशाला भित्र बन्न लागेको क्रिकेट मैदानको लागि भने गत साल छुट्याइएको २ करोड रुपैयाँ फ्रिज भएको थियो । यो आर्थिक वर्षमा क्रिकेट मैदानको लागि २५ लाख छुट्याइएको छ ।




