
तनहुँ, १६ कात्तिक – जिल्लाको व्यास नगरपालिकामा सञ्चालित विद्यालय मंसिरसम्म नखुल्ने भएका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन तत्काल सुचारु नहुने भएको हो ।
शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर शिक्षा समितिको बैठकले मंसिर २ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो ।
मौसम परिवर्तनको कारण रुघा, खोकीको प्रकोप देखिएको र कोरोना फैलन सक्ने सम्भावना भएकाले प्रत्यक्ष कक्षा सञ्चालनमा रोक लगाएको शिक्षा तथा सामाजिक बिकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले बताए ।
भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न भने दिइने उनको भनाई छ । प्रत्यक्ष विधीबाट पठपाठनमा रोक लगाएको गोदार बताउँछन् । ‘कक्षाकोठामा विद्यार्थी बोलाएर पढाउँदा कोरोना फैलने जोखिम छ’, उनी भन्छन्, ‘गाउँ टोलमा पुगेर विद्यार्थीलाई सिकाई सहजीकरण गर्न पनि रोक लगाएका छौँ ।’
मंसिर ३ गतेबाट कक्षा सञ्चालन गर्दा पनि नगरपालिकाले यस अगावै जारी गरेको निर्देशिकालाई विद्यालयले पालना गर्नुपर्नेछ । यदि कोरोनाको प्रभाव देखिएमा वा फैलन सक्ने खतरा बढेको खण्डमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय स्वयम विद्यालयले लिन सक्ने गोदारले बताए । कक्षा ११ सञ्चालन भएका विद्यालयमा स्वास्थ्यको मापदण्ड पालना गरी पुर्व निर्धारित तालिका अनुसार परिक्षा सञ्चालन हुने जनाईएको छ ।
असोज ११ गतेदेखी ६ महिनामा खुलेका व्यासका विद्यालय फेरी असोज २७ गते बन्द भएका हुन् । यो अवधिमा विद्यार्थी संख्या धेरै भएका यहाँका विद्यालयले ३ सिफ्टसम्म कक्षा चलाएका थिए । विद्यार्थीलाई ३ घण्टा बढी कक्षामा राख्न नपाउने बाध्यकारी नियम नगरपालिकाले बनाएको थियो ।




