तनहुँ, १७ कात्तिक– तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेमा बन्ने आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । वडाबाटै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने सरकारको उदेश्य अनुरुप स्वास्थ्य केन्द्रको भवन बनाउन गाउँपालिका अध्यक्षसहित ४ जना स्थानियले जग्गा सहयोग गरेपछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरीबहादुर चुमानले शनिबार शिलन्यास गरेका हुन् ।
गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले ४ आना, मदन थापाले साढे ३ आना, अमर थापाले साढे ३ आना र नहलसिंह मगरले २ आना जग्गा सहयोग गरेका हुन् । प्रचलित दर अनुसार स्थानीयले सहयोग गरेको जग्गाको मुल्य ३९ लाख रुपैयाँ पर्ने वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार, जग्गादातालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको छ ।
‘जग्गा किनेर स्वास्थ्य केन्द्र बनाउन पुग्ने बजेट थिएन् । जग्गाको खोजी हुदै गर्दा उहाँहरुले सहयोग गर्ने इच्छा प्रकट गर्नुभयो । वडाबासी सबैलाई पायक पर्ने ठाउँमा भएकाले यहीँ बनाउने निधो भएर शिलन्यास ग¥यौँ’, वडाध्यक्ष पोखरेलले भने ।
शिलन्यास गरिएको स्वास्थ्य केन्द्रको भवन आगामी मंसिर मसान्तसम्म निर्माण सक्ने गरी कसुम कन्सट्रक्सनलाई जिम्मा दिइएको छ । ३३ लाख रुपैयाँ लागतमा एक तलाको चार कोठे भवन बन्ने छ ।
गत आर्थिक वर्षमा भवन निर्माण गर्नुपर्ने भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले ढिलाई नभएको वडाध्यक्ष पोखरेलले जनाए । आफ्नै भवन नहुँदा पिप्लेमा रहेको आधारभूत स्वास्थ्य चौकीले भाडाको घरबाट वडाबासीलाई स्वास्थ्य सेवा दिईरहेको छ । आफ्नै भवन बनेर सेवा दिन थालेपछि सेवाग्राहीलाई अझ सहज हुने उनको विश्वास छ ।
बन्दीपुर गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ मा आधारभूत स्वास्थ्य केन्द्र छन् । वडा नम्बर १ बाहेक अन्य वडाको स्वास्थ्य केन्द्रको भवन यसअघि नै शिलन्यास गरेर निर्माणधिन अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । वडा नं. २ मा केन्द्रको भवन निर्माण सम्पन्न भएर हस्तान्तरण हुन बाँकी रहेको उनले जानकारी दिए ।





