बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा समाजका थरिथरिका धारणा

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा समाजका थरिथरिका धारणा


  • डा. गिरीधारी शर्मा
  • कार्तिक २८ २०७७, शुक्रबार

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा हाम्रो समाजमा थरिथरिका धारणाहरू छन् । कुनै राम्रा तर धेरै भ्रामक । वास्तबमा हाच्छ्युँ आउनु र बाडुली लाग्नु शरिरसंगै सम्बन्धित एक प्रणाली हो । यो कुनै अप्राकृत या अनिस्टताको संकेत होइन ।
हाच्छ्युँ
हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरमा नकारात्मक असर पर्छ ।
रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताकै एक अंग हो हाच्छ्युँ । फोक्सोबाट हावा नाक र मुखको बाटो हुँदै तीव्र गतिमा बाहिर आउँछ । नाकमा बाहिरी कण घुस्दा नाकको झिल्ली चिलाउँछ वा फुल्छ । यसो हुँदा नाकले यो सन्देश मस्तिष्कसम्म लग्छ र मस्तिष्कलेनै नाकको कणहरू शरीर बाहिर हटाउन मांसपेशीहरूलाई सूचित गर्छ । हाच्छ्युँको माध्यमले यस्ता हानिकारक कणलाई शरीरबाट बाहिर निकाल्छ ।
हाच्छ्युँ गर्दा शरीरका पेट, छाती, डायाफ्राम, गला र आँखाहरू सक्रिय हुन्छन् । यिनीहरूको संयुक्त प्रयासले अनाबस्यक कणलाई शरीरबाहिर निकाल्छन् । हाच्छ्युँको गति सय माइल प्रतिघन्टा हुन्छ र यसका साथ करीब एक लाख कीटाणु बाहिर आउँछन् । निद्रामा हाच्छ्युँ आउँदैन किनकि सुत्दाखेरी हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुन्छन् ।
शुभ वा अशुभको पछि लागेर हाच्छ्युँ रोक्न खोज्दा घातक परिणाम हुन्छ । यसरी रोक्न खोज्दा बाहिर निस्कनुपर्ने हावा, हनिकारक जिवाणु तथा हानीकारक कणहरू अन्य अंगतिर मोडिन्छ । सबभन्दा बढी हानि कानको जालीलाई पुग्छ । आँखा र गर्दनमा पनि नकारात्मक असर पुग्छ । लगातार यसो गर्दा हृदयघात र दिमागमा क्षतिसम्म हुनसक्छ । त्यसैले तपाईं कहिलेपनि हाच्छ्युँ नरोक्नुस् । यसलाई शरीरको प्राकृतिक प्रक्रियाकै रूपमा लिनुस् । भीडभाडमा हुनुहुन्छ भने बरू हाच्छ्युँ गर्ने बेलामा नाकमुखमा रुमाल राख्नुस् । त्यसो गर्दा अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन अनि तपाईंको स्वास्थ्य पनि सुरक्षित रहन्छ ।
यदी हाच्छ्युँ आउला जस्तो भएर आएनभने नाकभित्र रहेका हनिकारक बस्तुको काराण शरीर भारी हुने, टाउको दख्ने तथा आँखा र नाक बाट तरल (जुन नाक तथा नाक संग संबन्धित तंन्तु हरूमा भएको ईन्फेकसन वा अनआवस्यक हानिकारक कणहरू लाई बगाउनको लागी शरिरकै अंगले निकाल्ने रस) पदार्थ बग्ने हुनसक्छ । यस्तो अवस्थामा हाच्छ्युँ गरे ठिक हुन्छ । सामान्य नरम दुबो वा उही प्रकृतीको वस्तुलाई नाकको प्वालमा छिराउने कोसिस गर्दा हाच्छ्युँ आउँछ र उक्त समस्या हराउँछ ।
बाडुली
छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ ।
त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वर यन्त्रबीचको भाग बन्द हुनपुग्छ । बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ ।
बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।
बाडुली किन लाग्छ ? यसको जवाफ अझै किटान गरेर भन्न सकिने अबस्था छैन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति पैदा गर्छ भने श्वासप्रश्वासको क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु उब्जिएको अवस्थामा पनी हामीलाई बाडुली लाग्न सक्छ ।
उसो त, प्राचीन कालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र त्यसबेला फुल्काले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् । खासगरी फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकासक्रमको कुरासँग जोडिएको छ । यसले के संकेत गर्छ भने मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पति भएको जीवबाट विकास भएको हो । त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो । जुन बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको माध्यमबाट सास फेर्ने गर्थे ।
बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान सुस्तै भएपनी जारी नै छ ।
बाडुली लाग्ने समस्याबाट छुटकारा पाउने उपायहरू :
बाडुली लाग्दा खास ठुलो समस्या नभएपनी कम गर्ने केही तरीका हरू निम्नलिखित छन् :
१) आफ्नो श्वासलाई लामो समयसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुली लाग्न बन्द हुन्छ ।
२) पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुली लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।
३) कागतीको सेवनले बाडुली लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुली लाग्छ तब कागतीको एक चम्चा रसमा एक चम्चा महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुली लाग्ने समस्या तुरुन्त निको हुन्छ ।
४) सिरकाको खट्टो स्वाद बाडुली रोक्न निकै मद्दत गर्छ । जब बाडुली लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुली लाग्न बन्द हुन्छ ।
५) दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाउनुहोस् । अब यसलाई चपाएर रस चुस्नुहोस् । यो उपाय बाडुली रोक्नका लागि सबैभन्दा उपयोगी उपाय मध्य एक हो ।
६) एक चम्चा चीनीको सेवन पनि बाडुली रोक्नको लागि अचूक उपाय मानिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->