शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थपिदैँ पोखरामा फुटबल मैदान

थपिदैँ पोखरामा फुटबल मैदान

आँटीघरमा बन्ने हाइ–अल्टिच्यूट मैदानले खेलाडीको उर्जा पनि बढाउने छ ।


  • विजय नेपाली
  • मंसिर ४ २०७७, बिहिबार

पोखरा, ४ मंसिर– फुटबल मैदानको अभाव रहेको पोखरामा पछिल्लोसमय मैदान थपिन थालेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसँगै मैदान निमार्णको काम धमाधम हुन थालेको हो । पोखरा रंगशालाभित्र २ वटा मैदान निर्माण भएका छन् भने लामाचौर र हेमजामा समेत मैदान निमार्ण भएको छ । भण्डारढिकमासमेत एक मैदान छ ।
पोखरामा अब भने उच्च स्थानको खेल मैदान (हाइअल्टिच्युट मैदान) बन्ने भएको छ । जसले पोखराको फुटबललाई मात्र नभई पर्यटनलाई ह्वात्तै तान्ने विश्वास लिइएको छ । समुद्री सतहदेखि करिब १७ सय मिटरको उचाइमा बन्न लागेको मैदान महानगरकै उच्च भागमा बन्न लागेको मैदान हो । पोखरा–२० भलाम आँटिघरमा बन्न लागेको मैदानले खेल पर्यटनमा वृद्धि ल्याउने स्थानीयको विश्वास छ । वर्षेनी साना साना फुटबल प्रतियोगिता (सेभेन ए साइड) भइरहने पोखरामा हाइअल्टिच्युट मैदान बन्दा खेलाडीको स्तर वृद्धि हुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको ठम्याइ छ । पोखरामा दुई ठूला अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका साथै सेभेन ए साइड र पछिल्लो समय जिल्ला लिग, प्रदेश लिग, क्लब लिगसमेत हुने गरेका छन । तर, मैदानको अभाव छ । प्रतियोगिता गर्नका लागि पोखरा रंगशालामा रहेको फुटबल मैदान, लेखनाथको भण्डारढिकको मात्र छ । साग गेमपछि भने लामाचौर र हेमजामा समेत मैदान बनेको छ ।
यी सबै पोखराको खेल विकासको लागि पूर्वाधार हुन । आँटीघरमा महानगरकै उच्च स्थानको खेल मैदान (हाइअल्टिच्युट) निर्माणको लागि प्रतिवेदन ( डिपिआर) को काम अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । संघका अध्यक्ष मिलन गुरुङले खेलाडीको लागि हाइअल्टिच्युट मैदान निकै महत्वपूर्ण रहेको बताए । करिब एक सय ५० रोपनी रहेको जग्गामा प्राकृतिक प्यारापिट सहितको अन्तर्राष्ट्रियस्तर स्तरको फुटबल मैदान बन्ने उनको भनाइ छ । मैदानको नेपाली महिला राष्ट्रिय फुटबल टिमका सदस्यहरुले समेत अवलोकन गरिसकेका छन् । खेलाडीको लागि अनुकूल वातावरण रहेको र हिमालको काखमा रहेको मैदानमा तालिम गर्दा खेलाडीमा आत्मवल समेत बढ्ने अध्यक्ष गुरुङले बताए ।
आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रियस्तर स्तरको मैदान निर्माणले खेलकुदको साथसाथै गाँउको समेत विकास हुने हुदाँ स्थानीयहरुले भने उक्त कार्यलाई स्वागत गरेका छन । कास्की जिल्ला फुटबल संघको पहलमा बन्न लागको मैदानको लागी महानगरले आर्थिक वर्षमा ५० लाख रुपैयाँ समेत छुट्याएको छ । यो बाहेक सो क्षेत्रमा साढे ८ लाखको काम भइसकेको छ । सो रकमले मैदानसम्म पुग्ने बाटो सम्याउने लगायतको काम समपन्न भइ सकेको छ । स्थानीय समाजसेवी तिलबहादुर गुरुङले मैदानको लागी आर्थिक देखि जग्गा समेत सहयोग गर्न तयार रहेको बताए । उनकै अध्यक्षतामा महानगर र वडा कार्यालयबाट गरि साढे ८ लाखको काम समपन्न भएको छ । ‘यो महानगरमै जोडिएको साबिकको मौजा गाविस पिछडिएको क्षेत्र पर्छ । मैदान बनेपछी पर्यटन विकास हुने र गाउँको आर्थिक विकास समेत हुने हुदाँ हामी अत्यन्तै खुशी छौँ’, तिलबहादुरले भने । त्यस्तै स्थानीय यमन गुरुङले आफ्नो ठाउँमा मैदान नहँुदा छोराको सम्झनामा हुने फुटबल प्रतियोगीता समेत बाहिर गर्न परेको बताए । उनका छोरा अमन गुरुङको स्मृतिमा पोखरामा फुटबल प्रतियोगिता हुने गर्दछ । मैदानले आफ्नो गाउँमा बाटोसमेत पुग्ने र आफू बाल्यकालमा खेलेको स्थानमा मैदान बन्दा निकै खुसी लागेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->