विगतका वर्षहरूमा भन्दा यो वर्ष जाडो एक्कासी ह्वात्तै बढेको छ । उसो त हरेक वर्षको जाडोमा विभिन्न सरूवा रोग तथा दिर्घ रोगहरुले नसताएको भने होइन । गतवर्षको उत्तरार्धमा छिमेकी मुलुक चीनबाट एक सामान्य तयाः हावाबाटै सर्ने एक महामारीको सुरूवात भयो र संसार भ्रमणमा निस्किए । जस्ले विश्वलाई नै आर्थिक, सामाजिक, मानसिक र भौतिक रूपमा ठुलै प्रभाव परिरहेको छ । जुन महामारीको प्रभावक नेपाल पर्दैन भन्दै धेरैले वकवकाए तर ढिला भएपनि वर्तमान नेपालको अवस्था वर्णन गर्नै पर्दैन । लगभग चौध सय जति कोरोना संक्रमणकै कारण ज्यान गुमाइसके । कोरोना महामारी जसले विशेष गरी वृद्ववृद्वृद्दा र बालबालिकाहरूमा छिट्टै प्रभाव पारेको देखिन्छ । युवायुवती र वयस्क पनि कोरोना भाइरसको आक्रमण र संक्रमणबाट अछुतो भने छैन । विगतका जाडोभन्दा यो वर्षको जाडो सहज भने पक्कै छैन । कोरोना महामारीको अचुक अपचार भनेकै दुरी कायम र न्युन सम्पर्क हो त्यसैले आपसी दुरी कÞयाम गरौं, आपसी सम्पर्क घटाऔं, सुरक्षा मापदण्ड पुरा गरौं, आफु पनि सुरक्षित होऔं र अरूलाई पनी सुरक्षित रहन आग्रह गरौं ।
कोरोना महामारीको बढ्दो जोखिमसंगै जाडो मौसममा अन्य समस्याहरूले पनि निकै सताउँछन् । ज्वरो, टन्सिल, चायँ, दम, मुटुमा समस्या, हाड जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ । रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायःमा देखिन्छ । शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्याहरु देखिन्छन् ।
इन्फ्लुएन्जा भाइरस
हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । छिटो र समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धाहरु यस भाइरसको जोखिममा पर्ने समूह हुन् । संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिनजति मानिसहरुसँग दूरी कायम राख्नुपर्छ । घरबाहिर निस्कँदा मास्क लगाउने र संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।
कोल्ड डायरिया
जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटा भाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ । रोटा भाइरस खासगरी ३ वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ । विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो । संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् ।
टन्सिल
जाडोको समयमा टन्सिलको समस्या आमरुपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ । यसबाट बच्नको लागि यस मौसममा चिसो पेयपदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।
दम
दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो । रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले दमका रोगीहरुले चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ । आफूखुसी औषधि बीचमा छोड्नु हुँदैन ।
जोर्नीको दुखाइ
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् । विषेशगरी वृद्धवृद्धामा जोर्नी दुख्ने समस्या बढी हुन्छ । चिसो बढेको बेला ज्वाइन्ट पेन जसलाई पनि हुन सक्छ । तर बूढाबूढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढी प्रभावित गर्छ । यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने, जोर्नीहरुमा तातो सेकाइको लागि पट्टी या हट ब्यागको प्रयोग गर्नुपर्छ । सामान्य हल्का किसिमको व्यायाम नियमित गर्ने, न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
ज्वरो, रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बूढाबूढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।
निमोनिया
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छातीसम्बन्धी रोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा ध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन ।
पिनास
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुँवा आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ । जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो । यो बाहेक जाडोको समयमा वाफ लिने, साउना बाथ, स्टिम बाथ, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन । जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ ।





