पर्वत, १९ मंसिर– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले बुधबार नियन्त्रणमा लिएको विरोधमा नेपाल विद्यार्थी संघ पर्वतले प्रदर्शन गरेको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि टायर बालेर सरकारको विरोध गरेको हो ।
लोकतान्त्रिक देशमा तानासाही शैलीले कसैको राजनैतिक अधिकार कुण्ठित गर्न नहुने भएपनि वर्तमान सरकारले आफूले बाहेक अरू दलका नेताले राजनीति नै गर्न नपाउने शैली अपनाएकोमा विरोध प्रदर्शन गर्नुपरेको नेविसंघ पर्वतका कार्यवाहक अध्यक्ष आर.सी. पौडेल (रामचन्द्र) ले बताए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण नेविसंघका सीमित कार्यकर्ताहरूले सांकेतिक विरोध जनाएको नेविसंघ पर्वतले जनाएको छ ।
यस्तै, नेपाली काँग्रेस पर्वतले विज्ञप्ती जारी गर्दै नेता तथा कार्यकर्ताहरूको सरकारको वीर रुद्धमा जुट्नको लागि तयारी अवस्थामा रहन भनेको छ । तनहुँको व्यास नगरपालिकामा बुल्दी खोला पुलको बुधबार उद्घाटन गर्न त्यहाँ पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।





