पोखरा, २५ मंसिर– कास्की जिल्ला फुटबल संघको पहलमा पोखरा–२० आँटीघरमा पोखराकै उच्च(हाइअल्टिच्युट) फुटबल मैदान निमार्णको लागि प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
पोखरा महानगरपालिकाले हाइअल्टिच्युट मैदानको लागि प्रतिवेदन (डिपिआर) तयार गरेको हो । महानगरले मैदान निमार्णको लागि ५० लाख रुपैयाँ छुट्याएको छ । डिपिआर तयार भएपछि मैदान बन्ने पक्का भएको छ । ‘संघको पहलमा महानगरले मैदानको डिपिआर तयार पारेको छ । यसमा महानगर प्रमुख मेयर मानबहादुर जिसी र वडा २० का वडाध्यक्ष सिम गुरुङको सहयोगमा मैदान बन्ने भएको हो’, कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) अध्यक्ष मिलन गुरुङले भने । गाउँबासीको समेत सहयोग मिलेको उनले सुनाए ।
हाइअल्टिच्युट मैदान निमार्णले खेलाडिको खेल स्तरमासमेत वृद्धि हुने उनले बताए । ‘खेलाडीको लागि हाइअल्टिच्युट मैदान महत्वपूर्ण हुन्छ । हामीले कास्कीबाट राष्ट्रिय खेलाडी उत्पादनमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य लिएका छौँ, उनले थपे ।
समुद्री सतहदेखि करिब १७ सय मिटरको उचाइमा रहेको उक्त स्थानमा मैदान निर्माणको लागी स्थानीयको साथ मिलेको छ । आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रियस्तर स्तरको मैदान निर्माणले खेलकुदको साथसाथै गाँउको समेत विकास हुने हुँदा स्थानीयहरुले भने उक्त कार्यलाई स्वागत गरेका छन । मैदानका लागि महानगरले आर्थिक वर्षमा ५० लाख रुपैयाँ समेत छुट्याइएको छ । यो बाहेक सो क्षेत्रमा साढे ८ लाखको काम भइसकेको छ । सो रकमले मैदानसम्म पुग्ने बाटो सम्याउनेलगायतको काम सम्पन्न भइ सकेको छ ।

करिब एक सय ५० रोपनी रहेको जग्गामा प्राकृतिक प्यारापिटसहितको अन्तर्राष्ट्रियस्तर स्तरको फुटबल मैदान बन्नेछ । खेलकुदका साथसाथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास छ ।
पोखरामा अहिले फुटबल मैदान निमार्णको लहर चलेको छ । फुटबल खेलको विकासको लागि पूर्वाधारहरु निमार्ण हुदाँ आगामी दिनमा पोखराले व्यापक रुपमा खेलाडी उत्पादन तथा प्रतियोगिताहरु हुने देखिन्छ । मैदान अभावका कारण पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिताहरु संचालन हुँदै आएका छन् । पोखराको फुटबललाई अहिलेसम्म सेभेन ए साइडले नै धानेको छ । एन्फाले ग्रास रुट लेभलदेखि फुटबल संचालन सुरु गरिरहेको छ । पोखरामा भने यस अघि मैदानको कमि थियो । अहिले पोखरा रंगशालामा स्थित प्यारापिट सहितको फुटबल मैदानसहित अन्तर्राष्ट्रिय मापदण्डका पाँच मैदान रहेका छन् ।
मैदान निमार्णपछि विभिन्न उमेर समूहका राष्ट्रिय टिमको प्रशिक्षण समेत गराउन सकिने छ । करिब १२–१६ करोड लाग्ने अध्यक्ष गुरुङले भने । चैत्र अन्तिम सम्ममा मैदान सम्याउने र खेल्न योग्य बनाउने उनले बताए ।




