शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बुल्दी खोला प्रकरण र जगाइएको कांग्रेस

बुल्दी खोला प्रकरण र जगाइएको कांग्रेस


  • बिनोद ढुंगाना
  • मंसिर ३० २०७७, मंगलबार

पोखरा, ३० मंसिर– सरकार एकपछि अर्को काण्डमा फसिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मौनप्रायः थियो । नेता÷कार्यकर्ताहरु पार्टीले केही काम देओस् भन्ने आशा राख्थे तर सभापति शेरबहादुर देउवा ती सबै आग्रहमा मौन बसिदिन्थे । विभिन्न संवैधानिक पद, विश्वविद्यालयलगायतका क्षेत्रमा भागबण्डा खोजेको आरोप देउवामाथि लाग्दै आयो । देउवाले ती आरोपको खण्डन पनि गरेनन्, सरकारको असक्षमताविरुद्ध बोल्ने जाँगर पनि देखाएनन् । सदन हठात अन्त्य हुँदा सडकमा जानुपर्छ भन्नेसम्मको कुरा पनि उनको मुखबाट सुनिएन । कांग्रेसले भ्रष्टाचारलगायतका मुद्दामा आश्चर्यजनक मौनता साँध्यो । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कांग्रेस सभापतिलाई बुढीगण्डकी काण्डमा जोड्दा प्रवक्ताबाट सामान्य विरोधबाहेक कांग्रेसले केही गरेन । सत्तारुढ दल अलोकप्रिय भएको भेउ नेता÷कार्यकर्तामा भए पनि आफू लोकप्रिय छु भन्ने देउवाले सायद सोचेनन् । उनले आफू लोकप्रिय नहुनु भनेको पार्टीप्रति जनताको भरोशा नभएको रुपमा नै बुझे । आउँदो महाधिवेशनमा आफै सभापति बन्ने लालसाले किचिएका देउवाको मौनताले प्रमुख प्रतिपक्षी भुत्ते देखिएको । सत्तारुढ नेकपा आन्तरिक कलहमा भासिँदै जाँदा बरु देउवाले प्रधानमन्त्री ओलीलाई भेटे । प्रधानमन्त्री र ओलीबीच सत्ता साझेदारीसम्मका विषयमा कुराकानी भएको आँकलन गरियो । यो प्रकरणमा पनि देउवा बोलेनन् । बरु, पार्टीभित्र निरकंशु बन्दै गएको आरोपमा उनी उत्तेजित भए । विधान लत्याउँदै पार्टीमा आफूखुुसी गर्दै गए । यता,आन्तरिक विवादमा फसेको नेकपा देखेर समर्थक नै रुष्ट थिए÷ छन् । उनीहरु कम्तिमा कांग्रेसले सरकारको विरोध गरोस् र आफ्नो पार्टी सच्चियोस् भन्ने चाहन्थे । त्यो कुरा त कांग्रेसले बुझ्ने कुरै भएन । कांग्रेसको मौनताले जनता आजित भए । तर, जनता आफै सडकमा आउँदैनन् । उनीहरु कुनै भरपर्दो शक्ति सडकमा आओस् भन्ने नै चाहन्थे । कांग्रेसका कार्यकर्तामा त त्यो चाहना थियो नै !
यता, फागुनमा हुने भनिएको १४ औँ महाधिवेशन केन्द्रीत विवादले नेपाली कांग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीचमा दूरी बढाउँदै थियो । आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेसलाई तनहुँको बुल्दी खोलामा दुईवर्ष अगावै बनेको पक्की मोटरेवल पुलले एकै ठाउँमा उभ्याइदिएको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै मंसिर १७ गते तनहुँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडकखण्डअन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साढे ४ घण्टामा छाड्यो । प्रहरीले नियन्त्रणमा लिएको खबर बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै पौडेललाई रिहा गर्न माग गरे । त्यसपछि पार्टीको आन्तरिक विवाद भुलेर कांग्रेसको सिंगो पार्टी पंक्ती नै सरकार बिरुद्धमा लागेको छ । मंसिर १८ मा हजारौँ कार्यकर्तासँगै केन्द्रीय सदस्यलाई दमौली उतारेर पौडेलको हातबाटै बुल्दी पुलको उद्घाटन त भइछाड्यो । तर, यही घटनाले गुट उपगुटमा विभाजित कांग्रेसका नेता कार्यकर्तालाई एक बनाएको छ । बुल्दी पुल उद्घाटन प्रकरणपछि सोमबार कांग्रेस केन्द्रीय समितिको आह्वानमा ७७ जिल्लामै कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारको अधिनायकवादी र भ्रष्ट चरित्रकोविरुद्धमा सडकमा आएको भने पनि सुतेको कांग्रेसलाई ब्यूँझाउने काम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाटै भएको छ । यसले देशकै पुरानो लोकतान्त्रिक पार्टीलाई चलायमान बन्ने र जनताकहाँ जाने अवसर दिएको छ भने सत्तारुढ नेकपालाई पनि सचेत हुने र सच्चिने अवसर दिलाएको छ । कोभिड महामारीबीच सडक तात्नु चानचुने कुरा थिएन÷हैन । कांग्रेस धेरैपछि सडकमा मुखरित भएको छ । भनिन्छ,‘उचालेको कुकुरले मृग मार्दैन ।’ मृग मार्न कुकुर आफै शिकारी हुनुपर्छ । कांग्रेसको हकमा योपटक त्यस्तो नहोस् । रचनात्मक प्रतिपक्षीको रुपमा जनताले सुम्पेको जिम्मेवारी पूरा गर्न लागोस् । फेरि रामचन्द्रलाई सिध्याउने वा देउवालाई तल तान्ने धन्दा हैन कि कांग्रेस जनताको घरदैलोमा जाओस् । यता, जनमत त नेकपाले ५ वर्षकै लागि पाएको हो । आफूले पाएको जनमत आवधिक हो र आफू पुनः परीक्षणमा जानुपर्छ भन्ने नेकपाले बुझोस् । जनता विकास र समृद्धि चाहन्छन् ।सुशासन उनीहरुको चाहना हो नै । जनता आफ्नो कामले सन्तुष्ट छैनन् भन्ने नेकपाले बुझोस् !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->