पोखरा, ९ पुस– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजको डिलमा पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले ५५६ जना केन्द्रीय सदस्य थपे । तीमध्ये १०९ जना गण्डकीका रहेका छन । पहिल्यै आफ्नो पक्षमा रहेका र थपिएका केन्द्रीय सदस्यहरुको बुधबार काठमाडौंमा भेला गरियो । भेलामा केही नयाँ केन्द्रीय सदस्य भने उपस्थित भएनन् । केन्द्रीय सदस्य मनोनित भए पनि कता लाग्ने भन्ने दोधारमा भएकाहरु त्यहाँ नगएका हुन् । यता, ओलीले मनोनित गरेकामध्ये केहीले चाहिँ पद नै अस्वीकार गरेका छन् । तनहुँबाट केन्द्रीय सदस्य बनाइएका शेषमणि आचार्यले आफू पुरानै पार्टीमा रहेको भन्दै ओलीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् । यसअघि गण्डकीबाट नेकपामा १६ जना केन्द्रीय सदस्य थिए । तीमध्ये अधिकांश ओली पक्षीय भेलामा सहभागि भएको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए । उनका अनुसार हालै थपिएकामध्ये करिब एकसय जना बुधबारको भेलामा पुगेका थिए । उनका अनुसार भेलामा आउँदा दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरुले प्रशिक्षण दिएका थिए ।
भेलालाई पूर्वमाओवादी खेमाबाट ओली कित्तामा आइपुगेका नेता टोपबहादुर रायमाझी, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा यहाँका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संवोधन गरेका थिए ।
संवोधनको क्रममा नेता रायमाझी प्रचण्ड र माधव नेपालप्रति आक्रामक रुपले प्रस्तुत भएका थिए ।‘ विधि र पद्धतिको कुरा गर्ने माधव नेपाल जोसँग महाधिवेशनमा अध्यक्षमा हारेको हो, उसैलाई हटाएर अध्यक्ष हुन किन अप्ठ्यारो नमानेको ?’,उनले प्रचण्ड माथि खनिने क्रममा भने,‘ ३० वर्षसम्म महाधिवेशन नगरि आफैले आफैलाई टीका लगाएर अध्यक्ष हुने संसारमा कहीँ छैन ।’ उनले आफ्नो स्वार्थको लागि हरेक ठाउँमा भद्रगोल र अस्तव्यस्तता सिर्जना गर्ने प्रचण्डको पुरानै रोग भएको बताउँदै भने,‘त्यो त हामी भोगेर र व्यहोरेर आएको हो । ’
उनले नयाँ जनादेश लिने निर्णयबाट प्रचण्ड र माधव नेपालहरु खुसी हुनुपर्ने बताउँदै अगाडि थपे,‘ नयाँ जनादेशमा जाने कुरामा त प्रचण्ड– माधव समूह खुशी हुनुपर्नेमा किन अत्तालिएको ? जनतामा किन विश्वास नगरेको ? जनताको मत जितेर प्रधानमन्त्री बन्ने आँट गर्नुहोस् कमरेड प्रचण्ड ।’
नेता रायमाझीले पार्टीको सिस्टम र आन्दोलन जोगाउनको लागि पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीज्युका अगाडि संसद विघटन गर्नु र नयाँ जनादेशका लागि जनतामा जानुको विकल्प नै नभएको जिकिर पनि गरे । उनले संसद विघटन नगरेको भए मुलुक अराजकतामा जाने तर्क पनि गरेका थिए । उनले नेकपा र चुनाव चिन्ह सूर्य केपी शर्मा ओली नेतृत्वको पार्टीसँगै रहने बताउँदै ढुक्क भएर उच्च आत्मवलका साथ पार्टीलाई एकतावद्ध, अनुशासित र सुव्यवस्थित बनाउँदै चुनाव केन्द्रित भएर लाग्न केन्द्रीय सदस्यहरुलाई आग्रह पनि गरे । पूर्वमाओवादीमा हुँदा पार्टी संचालनको प्रक्रियाबारे लामो चर्चा गर्दै एकीकृत पार्टीमा त्यहाँका विकृति नदोहो¥याउने भनिए पनि त्यही कुरा दोहोरिएको बताए ।
‘हामीले ठूलो पार्टीमा राम्रा–राम्रा कुरा मिलाउने भनेको नराम्रो मात्रै कुराको अभ्यास गरियो’, उनले भने,‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्न अहिले केपी ओलीले र हामीले लिएको लाइनबाट मात्र सम्भव छ ।’ उनले अहिले पार्टीमा फुट आए पनि आउँदा दिनमा एकीकरण हुनसक्ने पनि बताएका थिए ।
भेलाबा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी शर्मा ओलीबको प्रशंसामा धेरै शब्द खर्चिए । उनले सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणकासाथ अगाडि बढेको राजनेता केपी शर्मा ओली नै भएको बताउँदै उनलाई विश्वास गरेर अगाडि बढ्न नेताहरुलाई आग्रह गरे ।
‘समृद्धि, लोकतन्त्र र राष्ट्रवादको नायक केपी शर्मा ओली हो, ढुक्क हुनुहोस् उहाँकै नेतृत्वमा देश र जनताको सपना पूरा हुन्छ । हाम्रो विजयलाई कसैले रोक्न सक्दैन’, उनले भने । पार्टी फुटले गम्भीर परिस्थिति सृजना गरेको बताउँदै उनले फुटको कारणसहित, साँचो कुरा लिएर जनताकहाँ जानुको विकल्प नभएको बताएका थिए । उनले प्रदेश तथा स्थानीय सरकारहरुले जनताको मन जित्ने काम गर्नुपर्नेमा जोड दिँदै राम्रो काम गरे पार्टी पुरानै अवस्थामा फर्कने बताएका थिए । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावनाबारे चाहिँ उनले प्रशिक्षणमा केही बताएनन् ।
कार्यक्रमबा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलेआफ्नै पार्टीको नेतृत्वको सरकार विरुद्धमा अविश्वासको प्रस्ताव लग्ने र देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेहरुको षडयन्त्र असफल भएको जिकिर गरे । उनले पार्टी यसअघि पनि फुटेको चर्चा गर्दै भने,‘यस्तो भइरहन्छ, अहिले केपी ओली र हामीले लिएको बाटो सही छ, यसलाई अझ मजबुत बनाउनुपर्छ ।’ पूर्वमन्त्री तथा नेता खगराज अधिकारीले आउँदो निर्वाचनमा ओली नेतृत्वको पार्टीले हामीले दुइतिहाई बहुमत ल्याउने बताउँदै जनताले प्रचण्ड–माधव समुहलाई आफ्नो मतद्वारा सजाय दिने जिकिर गरे । भेलाको अध्यक्षता खेलकुदमन्त्री जगत विश्वकर्माले गरेका थिए भने भूमि व्यवस्थामन्त्री पद्य्मा अर्यालले सहभागिलाई स्वागत र गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य बनेका गोविन्दबहादुर नेपालीले कार्यक्रम संचालन गरेका थिए । ओली पक्षीय नेकपाले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सातवटै प्रदेशका केन्द्रीय सदस्यहरुको भेला गरेको छ । यता, दुई खेमामा बाँडिएपछि ओली समूहले बिहीबार पोखरामा बृहत युवा भेलाको आयोजना गर्दैछ । प्रदेशस्तरीय युवा भेला यहाँको सभागृहमा आयोजना हुने ओली पक्षले जानकारी दिएको छ ।





