नवलपुर, १६ पुस– देवचुलीमा कडा खाले शिघ्र कुपोषणका ७ र मध्यम कुपोषणका ३७ जना बालबालिका पहिचान भएका छन् । नगरपालिकामा ११ दिनसम्म भएको शारीरिक लेखाजोखा कार्यक्रममा गरिएको स्क्रिनिङमा १ हजार २ सय ८४ बालबालिका सहभागी भएका थिए ।
१७ वटा वडा रहेको देबचुली नगरपालिकाका बिभिन्न स्थानमा पुगेर गरेको स्क्रिनिङबाट कुपोषणमा परेका बालबालिका पहिचान भएको स्वास्थ्य शाखा देबचुलीका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो ।
५ बर्षमुनिका बालबालिकामध्ये यस चरणमा १ हजार २ सय ८४ बालबालिका समुदाय स्तरीय शारीरिक लेखाजोखा कार्यक्रममा सहभागी भएका हुन् ।
बालबालिकामा देखिने कुपोषणका कारण उनीहरुको शारीरिक बृद्धि बिकाससँगै मानसिक बिकासमा पनि गम्भीर असर पर्ने हुदा अभिभावकले बाल–बच्चाको सन्तुलित खानपानमा ध्यान पुर्याउनुपर्ने सम्वन्धित बिज्ञहरुले बताउँदै आउने गरेका छन् । बिज्ञहरुका अनुसार कुपोषणको शिकार भएका बालबालिकामा संक्रामक रोग फैलने जाखिम धेरै हुने हुदा मृत्यु हुने सम्भावना बढी हुने गर्दछ । तर, आमाले बच्चालाई नियमित स्तनपान नगराउनु, ब्यस्त जीवनशैलीका कारण बच्चाको उचित खानपानमा ख्याल पुर्याउन नसक्नु, बिरामी अवस्थामा बच्चालाई चाहिने पौष्टिक र सन्तुलित आहाराको परिपुर्ति गर्न नजान्नुका कारण बालबालिका कुपोषणको शिकार हुने गरेको सर्वेक्षणले देखाउने गरेको छ ।





