पोखरा,१७ पुष–सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेल तयारीको लागी पुरुष फुटबल टोली पोखरा आउने भएका छन ।
विश्वकप छनोट खेल अन्तर्गत प्राकृतिक मैदानमा प्रशिक्षण गराउनुपर्ने भएकाले पोखरामा नेपाली राष्ट्रिय फुटबल टोली पोखरा आउने भएको हो । खेलाडीको लागी बसोबासको व्यवस्था र मैदानको स्थितिको बारेमा बुझ्न अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव सहितको टोली पोखरा आएका हुन । शुक्रवार पोखरा रंगशाला स्थित फुटबल मैदानको अवलोकन गर्दै एन्फाका महासचिव इन्द्रमान तुलाचले करिब दुई साता बन्द प्रशिक्षणको लागी पोखरा आउन लागेको जानकारी दिए । काठमाण्डौबाट महासचिव सहित केन्द्रिय सदस्य विजय घले र दिनेश व्यन्जनकार निरीक्षणको लागी पोखरा आएका हुन ।
नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा अब तीन खेल खेल्ने छ । नेपालले अब चाइनिज ताइपे, अष्ट्रेलिया र जोर्डनसंग खेल्ने छ । समुह बि मा रहेको नेपालले पाँच खेल खेलिसकेको छ । नेपालले एक खेलमा जित र चार खेलमा हार व्यहोरेको छ । ४ खेल खेलको अष्टे«लिया १२ अंकका साथ समुहको शीर्षस्थानमा रहेको छ । पाँच खेल खेलेको कुवेत १० अंकका साथ दोस्रो स्थानमा छ भने ५ खेल खेलेको जोर्डन समान १० अंकका साथ तेस्रो स्थानमा छ । पाँच खेलमा हार व्यहोरेको चाइनिज ताइपे अंक विहिन रहँदै पुछारमा रहेको छ ।




