तनहुँ, १७ पुस– सडकमा कष्टकर जिवन विताईरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट ५ जना र शुक्लागण्डकी नगरपालिकाबाट ४ जना सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । स्थानिय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ ।
यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची महाकाली उद्धार अभियान चलाएको अभियन्ता राजन सापकोटा बताउँछन् । यो अभियान पुस ७ गते सुरु भएको थियोभने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि साहरा विहीन सडक मानवको उद्धार अभियान जारी छ । ‘खाना नाना छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ’, उनले भने । कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १ सय २८ जनाले आश्रय पाएका छन् ।





